विज्ञ भन्छन्ः घरमै क्वारेन्टाइन राख्ने सरकारी निर्णय व्यवहारिक छैन

Click Image

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले मंगलबार सरकारले कोरोना भाइरस प्रभावित मुलुकबाट फर्किनेलाई क्वारेन्टाइनमा राख्न नसक्ने बताए। मानिसहरु आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनको भनाइ थियो।

‘क्वारेन्टाइन भन्ने बित्तिकै हिजो चीनबाट मान्छेहरु ल्याएजस्तै सरकारले सबै व्यवस्थापन गर्ने होइन,’ उनले भने, ‘अब मान्छेहरुले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्छ।’

स्वास्थ्यमन्त्री ढकालले क्वारेन्टाइनमा बस्नेले विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)को मापदण्ड पालना गर्नुपर्ने पनि बताए।

‘डब्लुएचओको मापदण्ड अनुसार दैनिक ज्वरो नाप्ने, परिवारसँग दूरी कायम राख्ने, खानेकुरा बार्ने तथा आफ्नो व्यवहार नियन्त्रणमा गर्नुपर्छ,’ मन्त्री ढकालले थपे, ‘ज्वरो, रुघाखोकी देखिएमा हामी अस्पतालमा परीक्षण गराउने व्यवस्था गर्छौँ। परीक्षण गराउँदा संक्रमित भएको देखियो भने अस्पतालमा राखेर उपचार गरिन्छ। त्यसको जिम्मा राज्यले लिन्छ।’

तर, संक्रमण फैलिएको अवस्थामा होम क्वारेन्टाइनमा बस्न सबैका लागि सम्भव नहुने विज्ञहरु बताउँछन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का पूर्वनिर्देशक डा. बाबुराम मरासिनी सरकारले अहिले घोषणा गरेको होम क्वारेन्टाइन नेपालको सन्दर्भमा अव्यवहारिक रहेको बताउँछन्।

‘एकातिर सानो घर हुनेहरु एउटै कोठामा धेरै मान्छेहरु बस्नुपर्ने अर्कातिर चेतनाको अभावले कसैलाई घरमा क्वारेन्टाइनमा राखिए सामाजले पनि अस्वीकार गर्ने हुनसक्छ,’ मरासिनीले भने, ‘सरकारले विकल्प दिनुपर्थ्यो। जसको घरमा थुप्रै कोठा छन्, अलग्गै शौचालय छ, उनीहरुलाई होम क्वारेन्टाइनमा राख्न सकिन्छ। तर, व्यवस्था नहुनेहरुलाई सरकारले छुट्टै राख्ने व्यवस्था मिलाउनुपर्थ्यो।’

अघिल्लो हप्ता चीनको ताक्लाकोटबाट आएका केही मान्छेलाई हुम्लामा स्थानीयले कोरोना लागेको आशंकामा आफ्नो क्षेत्रमा बस्न नदिएको स्मरण गर्दै होम क्वारेन्टाइनमा बस्न समस्या हुने उनले औँल्याए।

‘हरेक जिल्लामा खोज्ने हो भने क्वारेन्टाइनका लागि एकदुई वटा ठाउँ पाइन्छ। त्यसको व्यवस्था सरकारले गर्नुपर्छ,’ मरासिनीले थपे।

घरमा क्वारेन्टाइनमा राख्दा यदि कसैलाई संक्रमण भएको रहेछ भने तत्काल थाहा नहुँदा वरपरकालाई सर्न सक्ने जोखिम रहेको उनको भनाइ छ। ‘स्वास्थ्यकर्मीले निगरानीमा मात्र होम क्वारेन्टाइन राख्नुपर्छ,’ उनले भने।

टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन पनि संक्रमितहरुले सामाजिक विभेद झेल्नपर्ने अवस्था आउनसक्ने चेतावनी दिए।

‘हामीकहाँ कोरोनाका आशंकामा आउने बिरामीले पनि समाजले शंकाको नजरले हेर्ने गरेको बताउँछन्,’ उनी भन्छन्, ‘त्यसैले बढी जोखिम भएका देशबाट आउनेलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था सरकारले गर्नुपर्छ। बढी संक्रमित देखिएका ठाउँहरुबाट आउनेलाई सरकारले छुट्टै क्वारेन्टाइनमा राख्दा राम्रो हुन्छ। त्यसो गर्दा दुई फाइदा हुन्छ। एक, बिरामी स्वयं क्वारेन्टाइनमा बसिसकेपछि आफूलाई संक्रमण छ, छैन निश्चिन्त हुन्छ, अर्को सामाजले उसप्रति गर्ने शंका पनि दूर हुन्छ।’

चीनको वुहानबाट ल्याएका नेपालीहरुलाई सुरुमा कोरोना संक्रमित जस्तो व्यवहार गरिएको र पछि उनीहरु स्वास्थ्य भनेपछि मज्जाले सामाजमा घुलमिल भएको उदाहरण उनले दिए।

वुहानबाट ल्याएका १ सय ७५ जना नेपालीलाई सरकारले आफ्नै व्यवस्थापनमा भक्तपुर खरिपाटीस्थित क्वारेन्टाइनमा दुई साताभन्दा बढी राखेको थियो। कोरोना नलागेको पुष्टि भएपछि उनीहरुलाई घर पठाइएको थियो।

सरकारले कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न देशबाट आउनेलाई अन अराइभल भिसा बन्द गरेको छ। तर, संक्रमित मुलुकबाट आउने छुट्टै क्वारेन्टाइनमा राख्नुको सट्टा होम आफैँ घरमा क्वारेन्टाइनमा बस्न भनेको छ।

फागुन १८ गते उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको पहिलो बैठकले पहिलो पटक सेल्फ क्वारेन्टाइनमा राख्ने निर्णय गरेको थियो।

‘कोरोनाबाट बढी प्रभावित र यसको उच्च जोखिम रहेका मुलुकहरुबाट एवं तेस्रो देशबाट ती मुलुकहरु हुँदै आउने नेपाली नागरिक स्वयंले १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्न र रोगको लक्षण देखिएमा तोकिएको स्वास्थ्य संस्थामा सम्पर्क सूचना प्रवाह गर्ने,’ बैठकको निर्णय नम्बर ४.२ मा लेखिएको छ।

सो बैठकमा गृह, परराष्ट्र, शिक्षा, कृषि, स्वास्थ्य, उद्योग, पर्यटन, अर्थ र सञ्चार मन्त्री तथा मुख्यसचिव लोकदर्शन रेग्मी उपस्थित थिए।

सेल्फ क्वारेन्टाइनमा बस्दा के कुरामा ध्यान दिने?
सेल्फ क्वारेन्टाइनमा बस्दा विश्व स्वास्थ्य संगठनको मापदण्ड लागू गरिनुपर्ने चिकित्सक बताउँछन्।

टेकु अस्पतालका चिकित्सक अनुप बास्तोलाले सेल्फ क्वारेन्टाइनमा बस्नेहरुले घरबाट बाहिर ननिस्कने, परिवार तथा समुदायसँगको दूरी राख्ने, आफ्ना सामान अरुलाई प्रयोग गर्न नदिने, साबुनपानीले नियमित हात धुने, मास्क लगाउने, छुट्टै शौचालय प्रयोग गर्ने, अरुको मोबाइल तथा तौलिया नछुनेजस्ता होसियारी अपनाउनुपर्ने मापदण्ड रहेको बताए।

‘जब ठूलो संख्यामा संक्रमण देखिन्छ, अस्पतालहरु अभाव देखिन्छ, त्यसपछि सेल्फ क्वारेन्टाइन नीति अपनाइने हो,’ डा. बास्तोलाले भने, ‘यदि घरमा बस्दा कुनै लक्षण देखिएमा तुरुन्त अस्पताल आउनुपर्छ।’ 

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैतेछठ सम्पन्न

Previous articleदम्पती हत्या प्रकरणः सीआईबीसहित चार टाेली अनुसन्धानमा, घटना अझै रहस्यमै
Next articleअपहरणको नाटक गरी आफ्नै बुबासँग २१ लाख फिरौती माग
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।