दार्चुला । कोरोना भाईरस (कोभिड – १९) का बारेमा सतर्कता अपनाउन आग्रह गरिएपनि दार्चुलासँग सीमा जोडिएको क्षेत्रमा चेकजाँच बिनै आवातजावत भइरहेको छ । भारतसँग सीमा जोडिएका दार्चुलाका दर्जनौं नाकाबाट चेकजाँच बिनै र आवातजावत भइरहेको हो ।
सदरमुकाम खलंगाको सीमा पूल र दत्तुमा मात्रै नेपालले सचेतना फैलाउन भन्दै हेल्थ डेस्क स्थापना गरेको छ । तर त्योबाहेक लाली, जौलजीवि, तिगरम र दुम्लीङ पूलमा हेल्थ डेस्क राखिएको छैन् । यस्तै नेपाल भारत जोड्ने पूल नभएका तर अवैध तुइन सञ्चालन गरिएका मलघाट, बर्तीघाट, मालघाट, रिठान लगायतका क्षेत्रबाट अहिले नेपाल भारत आवत जावत हुने गरेको छ ।
भारतले सीमा क्षेत्रमा सुरक्षा सतर्कता अपनाएको भएपनि नेपालतिर अझै सुरक्षा अपनाइएको छैन् । भारतले तिगरमा समेत हेल्थ डेस्क राख्ने तयारी गरेको छ । तर हाम्रा तिरका सबै क्षेत्रका पूलहरुमा हेल्थ डेस्क लगायतका सुरक्षा सतर्कता अपनाइएको छैन्, व्यासका स्थानीय दानसिह कार्कीले भने ।
यी सबै नाकाबाट दैनिक दर्जनौ व्यक्ति नेपाल भारत ओहोरदोहोर गर्ने गर्छन् । तुईन भएका क्षेत्रमा त वारीपारी पनि निगरानी छैन् उनले भने । अहिले पनि दैनिक उपभोग्य सामाग्रीदेखि सबै सामान खुलियाम ओसारपसार हुने गर्छ ।
तिगरम घाटका ईन्चार्ज बली चन्द भन्छन्, ‘हाम्रो तिर प्रहरीलाई राम्रोसँग बस्ने ठाउँ नै छैन्, उता भारतले हेल्थ डेस्क राख्ने तयारी गरेको छ ।’
कोरोना भाइरसबारे जिल्लास्तरमा सचेतना कार्यक्रम भएपनि ग्रामीण क्षेत्रसम्म सावधानी अपनाउन पहल खासै भएको छैन् । सरकारले ठूला कार्यक्रम तथा सभा सम्मेलन रोक लगाएको छ । अहिले पनि भारतबाट आउने मान्छेहरु निर्वाधरुपमा नेपाल भित्रिदैछन् ।
केहि स्थानीय तहले सार्वजनिक अपिल जारी गर्दै सचेतना कार्यक्रम गर्न भनेका छन् तर हेल्थ डेस्क राखेर चेकजाँच तथा सचेतना मूलक कार्यक्रम गरेका छन् । केहि दिन बैतडीमा भएको नेपाल भारत सुरक्षा अधिकारी बैठकले कोराना भाइरस फैलिन नदिन सीमा क्षेत्रमा चेकजाँच तथा चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका थिए ।
बैठकको मुख्य एजेण्डामा सीमा क्षेत्रमा निगरानी बढाउने तथा सुरक्षा सतर्कता अपनाउने विषयमा नेपालका दार्चुला, बैतडी र भारत पिथौरागढका जिल्ला अधिकारी सहमत भएका थिए ।
यसैबीच महाकाली नगरपालिकाको स्वास्थ्य शाखाले दत्तुमा हेल्थडेस्क स्थापना गरेको छ । कोरोनाको संक्रमणबारे सचेतना प्रदान गर्न नेपाल भारत जोड्ने दत्तु नाकामा हेल्थडेस्क स्थापना गरेको हो ।
भारतका विभिन्न शहर तथा अन्य मुलुकबाट दत्तुको नाका भएर नेपाल भित्रिने सबै जसो मानिसमा चेकजाँच गर्न तथा स्वास्थ्य अवस्थाबारे जानकारी लिन हेल्थडेस्क स्थापना गरिएको महाकाली नगरपालिका स्वास्थ्य उपसंयोजक लालजिरा भट्टले जानकारी दिईन् ।
हेल्थडेस्कको नगर उपप्रमुख सुना बोहरा, वडा नम्बर ४ का वडा अध्यक्ष एवं नगर प्रवक्ता पुष्करराज जोशी, वडा नम्बर ९ का वडा अध्यक्ष हरसिंह डागा, महाकाली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नरसिंह बडालको उपस्थितिमा स्थापना गरिएको छ ।
नेपाल प्रहरीको ड्युटी पोष्ट नजिकै हेल्थडेस्क स्थापना गरिएको छ । हेल्थडेस्कमा कोरोना भाइरस संक्रमण पस्चात मानिसमा देखिने लक्षण तथा संक्रमणबाट बच्ने उपायसहितको होडिङबोर्ड राखिएको छ । दत्तु नाका भएर नेपाल भित्रिने संकास्पद व्यक्तिलाई डेस्कमा राखेर परामर्श सेवा दिइने उपसंयोजक भट्टको भनाई छ ।
हेल्थ डेस्कमा कोरोना संक्रमणको संकास्पद व्यक्ति भेट्टिए जिल्ला अस्पताल दार्चुलामा पठाईने व्यवस्था मिलाइएको छ ।
सचेतना अपनाउन गाउँपालिकाको अपिल
कोरोना भाईरस (कोभिड – १९) को बारेमा सचेतना अपनाउन दुहुँ गाउँपालिकाले अपिल गरेको छ । विश्वव्यापी रुपमा फैलिदै गएको कोरोना भाइरसबारे स्थानीयस्तरमा सचेतना बढाउन गाउँपालिकाले अपिल गरेको हो ।
गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले अपिल पत्र जारी गर्दै दुहुँ बासीमा अहिलेदेखि नै सावधानी अपनाउन समेत आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ, ‘संक्रमणबाट जोगिनको लागि राम्रोसँग साबुन पानीले हात धुनु, खानेकुरा धोइपखाली खानु, ढोक्ने नमस्ते गर्ने तथा हात नमिलाउन आग्रह गरिएको छ ।’
पानीको प्रयोग गर्दा उमालेको पानी प्रयोग गर्न तथा टिमुर, लसुन, हलेदोको प्रयोग गरी खान खान तथा स्वास्थ्य समस्या भएमा स्वास्थ्य संस्थामा चेकजाँच गराउन अपिल पत्रमा भनिएको छ ।
यस्तै गाउँपालिकाले गाउँपालिकाभरी रहेका स्वास्थ्य संस्थाहरुलाई सजगता अपनाउन तथा औषधीको प्रयाप्त व्यवस्थापनमा ध्यान दिन भनेको छ । गाउँपालिकाभरी सभा सम्मेलन नगर्न तथा सचेतनाका कार्यक्रमहरु गाउँपालिकाले अगाडि बढाएको भन्दै अगाडि भनिएकोछ, सचेतनाका कार्यक्रमलाई आहार व्यवहार र घर घरमा प्रयोग गर्न अपिल गरिएको छ ।

The post सीमामा चेकजाँच बिनै आवातजावत appeared first on Rajdhani Daily News.


