नयाँदिल्ली । भारत सरकारले विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस महामारी घोषणा गरेलगत्तै सन् २०२० मार्च ११ वा सो भन्दाअघि प्रदान गरेका सबै पर्यटक भिसा र ई–भिसा निलम्बन गरेको जनाएको छ ।
यो मितिमा जारी गरिएको भिसाहरु कूटनीतिक, आधिकारिक, संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय संस्था, रोजगार, परियोजना भिसाबाहेकका पर्यटक तथा अन्य भिसा १५ अप्रिलसम्मलाई निलम्बन गरेको हो ।
भारत सरकारले भारतीय नागरिकहरुसहित अन्य देशका यात्रुहरुलाई अनावश्यक यात्रा नगर्न सल्लाह समेत दिएको भारतीय संचार प्रेस टप्स अफ इन्डिया (पिटिआई) ले जनाएको छ । पर्यटक भिसा निलम्बनसम्बन्धी नियम मार्च १३ शुक्रबारबाट सुरु हुनेछ । पहिला नै भारतमा रहेका सबै विदेशीहरुको भिसा मान्य रहने र उनीहरुले भिसाको समय थप वा अन्य कामका लागी एफआरओलाई सम्पर्क गर्न सक्ने भारतीय अध्यागमन कार्यालय द्वारा जारी ट्राभल एडभाईजरीमा उल्लेख छ ।
नेपाली नागरिकले भने भारत आउजाउ गर्न सक्नेछन् । तर नेपालीसहित कुनै भारतीय नागरिक हवाई माध्यमद्वारा कोरोना भाइरस संक्रमण भएको देशबाट भारत आए १४ दिन भारतीय क्वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ ।


