बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई सिधै क्वारेन्टाइनमा

काठमाडौं – सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेर बिनाकाम घरबाहिर निस्कने व्यक्तिलाई प्रहरीले सिधै क्वारेन्टाइनमा राख्ने भएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक जथाभावी रूपमा सरकारको निर्णय उल्लंघन गरेर हिँड्नेलाई पक्राउ गरी क्वारेन्टाइनमा राख्ने नीति लिएको हो । लकडाउनलाई व्यवस्थित गर्न शुक्रबारबाट नै सो नीति सुरु गरिएको प्रहरीले बताएको छ । सरकारले कोरोना संक्रमित फेला परेपछि ११ चैतबाट देशभर लकडाउन गर्ने घोषणा गरेको थियो ।

लकडाउन घोषणापछि पनि सुरुवाती दिनमा प्रहरीले बिनाकाम घरबाहिर निस्कनेलाई सम्झाई बुझाई छाड्दै आएको थियो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डीआईजी विश्वराज पोखरेलले सरकारको निर्णयविपरीत बिनाकाम घरबाहिर सडकमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्ने जानकारी दिए ।

‘सरकारको निर्णय मान्नु सबै नागरिकको कर्तव्य हो, बिनाकाम लकडाउन उल्लंघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्छ,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख पोखरेलले राजधानीसँग भने । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिकूल मौसमले उडान प्रभावित

Previous articleगम्भीर बनौँ, कोरोनाले यसरी ध्वस्त पारिदिन्छ मानिसको फोक्सो ! (भिडियो)
Next articleलकडाउनको अवधि बढाउने सरकारको तयारी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।