उज्यालो नेपाल, चितवन, चैत २६–
पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नं. १६ मा आज (बुधबार) राहत वितरण गरिएको छ । कोरोना नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका अति विपन्न वर्गलाई राहत वितरण गरिएको वडाध्यक्ष हेमराज थापाले जानकारी दिए । राहत वितरण पूर्व सो वडामा ज्याला मजदुरी गरेर जिविका चलाउने अति विपन्नहरुको विवरण संकलन गरिएको थियो ।

१६ नं. वडाका ज्याला मजदुरी गरेर पारिवार पाल्दै आएका १८० अति विपन्न परिवारलाई राहत वितरण गरिएको हो। परिवार संख्याका आधारमा पाँच किलोदेखि २५ किलो चमल, एक किलो दाल, एक लिटर तेल, एक किलो नुन र हात धुने साबुन वितरण गरिएको छ। रत्ननगर नगरपालिकाले राहत वितरणमा एकद्धार प्रणाली अवलम्बन गरेको छ । नगरभित्रका ज्याला मजदुरी गरेर जिविका चलाउने परिवारले स्थानीय सरकारले नै राहत वितरण गर्ने गरी एकद्धार प्रणाली लागू गरिएको हो। सोहि अनुरुप वडा नं. १६ मा पनि एकद्धार प्रणाली बाट राहत वितरण गरिएको हो।


