चितवन । चितवनको राप्ती नगरपालिका वडा नं ८ मा कोरोना भाइरसको संक्रमण देखिएपछि गाउँमा त्रास छाएको छ । चैत ३ गते बेलायतबाट कतार एयरवेजमा नेपाल आएका आमा छोराको बिहीबार भरतपुर कोभिड-१९ परीक्षण प्रयोगशालामा नै कोरोना पोजिटिभ देखिएपछि टेकुमा बिहीबार साँझ पुनः परीक्षणका लागि पठाइएकोमा कोरोना पोजिटिभको पुष्टि भएको छ ।
चैत ५ गते चितवन आइपुगेकी महिलाले बेलायतबाट ल्याएको चकलेट गाउँलेलाई बाँडेको वडाध्यक्ष बुद्धिराज थपलियाले जानकारी दिए । उनीहरु ५ गते चितवन कसरी आए र काठमाडौँमा कहाँ बसे भन्ने केही नबताएको थपलियाको भनाइ छ । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि राप्ती नगरपालिकाले विदेशबाट आएकाको विवरण संकलन गरी होम क्वारेन्टाइन बस्न आग्रह गरेबमोजिम सो परिवार क्वारेन्टाइनमा बसे पनि विदेशबाट आउनेवित्तिकै गाउँलेलाई चकलेट बाँडेका थिए ।

उनीहरुको सुरुवातमा ज्वरो नदेखिए पनि पिसिआर परीक्षण गर्दा आमा छोराको नतिजा पोजेटिभ देखिएको थियो । हङकङबाट आएका अर्का छोराको भने नतिजा नेगेटिभ आएको बताइएको छ ।
अनुमति लिएर मात्रै घर बाहिर निस्कन चितवन प्रहरीको आग्रह
भरतपुर । प्रहरी कार्यालयबाट अनुमति लिएर मात्रै घर बाहिर निस्कन जिल्ला प्रहरी कार्यालय चितवनले कृषि क्षेत्रमा संग्लन कामदारहरुलाई आग्रह गरेको छ । कृषिजन्य कार्यहरु मौरीपालन, पशुपालन, माछापालन,केराखेतीलगायतका कार्यहरुमा कामदारको आवागमन एवम् किटनाशक तथा भेटेरीनरीजन्य औषधीहरु किन्नका लागि घर बाहिर निस्कन पर्ने भएमा प्रहरीलाई पहिला जानकारी गराउन भनिएको छ ।

प्रहरी कार्यालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिहरुले आफ्नो कामको विवरण, जानुपर्ने स्थान र समय खुलाई जिल्ला प्रहरीको प्रहरी नियन्त्रण कक्षमा जानकारी गराउन आग्रह गरेको हो । त्यसका लागि प्रहरीले सम्पर्क नम्बरहरु ०५६५२०१५५, ५२४२४१, ९८५५०९०१३३ वा १०० को व्यवस्था गरेको छ ।
त्यस्तै, ड्युटीमा खटिएका प्रहरी कर्मचारीहरुको काम कारबाही प्रति कुनै गुनासो भएमा सम्बन्धित प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयको प्रमुखलाई जानकारी गराउन पनि आग्रह गरिएको छ ।


