भरतपुर । सरकारले चितवनका पाँच ठूला आयोजनालाई अघि बढाउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शुक्रबार प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा चितवनका पाँच ठूला आयोजना परेका छन् । नीति तथा कार्यक्रममा समेटिएको आयोजना चितवनमा पेट्रोलियम पदार्थको भण्डारण गृह बनाइने हो । चितवनसहित झापामा पनि पेट्रोलियम पदार्थको भण्डारण गृह बनाइने नीति तथा कार्यक्रममा उल्लेख छ ।
यस्तै सरकारले बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईन विस्तार गर्ने भएको छ । चितवनमा परेको दोस्रो आयोजनामा पेट्रोलियम पाइपलाइनलाई लिन सकिन्छ । राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रममा पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म विस्तार गर्ने जनाएकी छन् ।

सरकारको नीति तथा कार्यक्रममा भरतपुर अस्पताललाई विशेषज्ञ अस्पताल बनाइने उल्लेख छ । भरतपुर अस्पताललाई ५०० शैयाको विशेषज्ञ अस्पतालको रुपमा विकास गरिने राष्ट्रपति भण्डारीले बताइन् ।
राष्ट्रपति भण्डारीले चितवनको शक्तिखोरमा औद्योगिक क्षेत्र निर्माणका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने बताएकी छन् । यसअघि नै औद्योगिक क्षेत्र बनाउने भनिए पनि बजेट अभावले औद्योगिक क्षेत्रको कार्य अघि बढ्न सकेको छैन ।सरकारले हेटौंडा–भरतपुर–बर्दघाट विद्युत प्रशारण लाइन निर्माणलाई पनि अघि बढाउने भएको छ । किशोर खनाल/ चितवन पोष्ट


