भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, कोरोनाको परिक्षण हुँदै स्वाबको नतिजा आउन बाँकी

भरतपुर अस्पतालको आईसियूमा एक जनाको मृत्यु, कोरोनाको परिक्षण हुँदै स्वाबको नतिजा आउन बाँकी

१२ जेठ, चितवन । भरतपुर अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नका लागि तयार गरिएको आईसीयूमा एक बिरामीको मृत्यु भएको छ । आइतबार राति १२ बजे बुटवलको लुम्बिनी सिटी अस्पतालबाट रिफर भएर आएका नवलपरासी रामग्राम ५ का ४८ बर्षका पुरूषको राति ३ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसयन डा. प्रमोद पौडेलले बिरामीमा निमोनियाको समस्या देखिएको बताए ।

‘ल्याउँदा नै निकै सिरियस अबस्था थियो, अस्पतालमा ल्याएर सम्भव भएका सबै प्रयास गर्‍यौं तर बचाउन सकिएन’ डा. पौडेलले भने । बिरामीमा कोरोना संक्रमण परीक्षण भने गरिएको छैन । केहीबरेमा स्वाब निकालेर पीसीआर परीक्षण गर्ने तयारी गरिएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनको शव आईसीयूमा नै रहेको छ ।

ओहो ! डायलासिस गराउन ठेलामा हालेर अस्पताल

११ जेठ, काठमाडौं । आइतबार दिउँसो काठमाडौं उपत्यकाका टन्टलापुर घाम लागेको थियो । लकडाउनका कारण पास भएका तथा अत्यावश्यक सवारी साधान मात्र गुडिरहेका थिए । सडकमा आवत जावत पनि शून्यजस्तै थियो । दरबार स्कुल, रानीपोखरी अगाडि अनौठो दृश्य देखियो । हरियो टिर्सट, हाफ पाइन्ट र चप्पल र मुखमा कपडाको मास्क लगाएका अधवैशे पुरुष असिन पसिन भएर ठेला धकेलिरहेका थिए । ठेलामा कुनै वस्तु नभएर एक महिला सुतिरहेकी थिइन् ।


अहो ! ठेलामा हालेर बिरामीलाई अस्पताल ? दृश्यले मथिङ्गल हल्लायो । कहाँबाट ल्याएको होला ? के भएको होला ? एम्बुलेन्समा हालेर लैजानुपर्ने बिरामीलाई ठेलामा हालेर ल्याउनुपर्ने बाध्यता के होला ? दिमागमा एकपछि अर्को प्रश्न आयो ?

हतार–हतार सोध्यौं, कहाँ जान लाग्नुभएको ?

जवाफ आयो : डायलासिस गराउन वीर अस्पताल ।

उनी अस्पताल नजिक पुगिसकेका थिए । त्यसैले हामीसँग एम्बुलेन्स बोलाउने समय पनि थिएन । तर, उनलाई पछ्यायौं । उनी वीर अस्पताल पुगेर महिलालाई डायलासिसका लागि पठाएपछि उनसँग हामीले बिरामी को हुन् ? के भएको हो ? किन ठेलामा हालेर अस्पताल ल्याउनुपर्‍यो ? भनेर जान्न चाह्यौं ।

उनी धादिङको गंगा जमुना गाउँपालिका गलनेका डम्बरबहादुर सिम्खडा रहेछन् । ठेलामा राखेर ल्याइएकी बिरामी उनकी श्रीमती रहिछन् । लकडाउनका कारण गाडी चल्न छाडेपछि ट्याक्सी भाडा तिर्ने पैसा भएन, त्यसैले सामाखुसीबाट श्रीमतीलाई ठेलामा हालेर अस्पताल ल्याई डायलासिस गराउन थालेका रहेछन् । डम्बरबहादुर भन्छन्, ‘लकडाउन हुञ्जेल यसरी नै आउजाउ गर्नुपर्ला ।’

उनले आफ्नो कथा यसरी सुनाए ।

मेरो नाम डम्बर बहादुर सिम्खडा हो । घर धादिङको गंगा जमुना गाउँपालिकाको गलने भन्ने ठाउँमा हो । अहिले सामाखुशीमा बस्छु । मेरी श्रीमती सीता विगत ८ वर्षदेखि बिरामी छिन् । तर, अनेक उपचार गर्दा पनि रोग पत्ता लागेन । एक वर्ष अगाडि उनको मिर्गौलामा समस्या भएको कुरा पत्ता लाग्यो र नियमित डायलासिस गराइरहेको छु । लकडाउन अघिसम्म सामाखुशी नजिकैको एउटा डायलासिस सेन्टरमा निःशुल्क डायलासिस गराइरहेको थिएँ । लकडाउनपछि त्यहाँ निःशुल्क डायलासिस नगराउने भन्ने सूचना जारी भयो ।

मैले त्यहाँ गएर ‘किन यस्तो गरियो भनेर सोधपुछ गरेँ । उनीहरुले स्वास्थ्य मन्त्रालयमा गएर कुरा गर्नू भने । म मन्त्रालय पनि गएँ । हामीलाई सरकारी अस्पतालमा डायलासिस गर्न सिफ्ट गरिएको रहेछ । तर, त्यो सूचीमा मेरी श्रीमतीको नाम थिएन । मैले घटनाको बेलिविस्तार लगाएपछि मन्त्रालयका एक कर्मचारीले वीर अस्पतालमा डायलासिस गराउन नाम टिपाइदिए ।

तर बिरामीलाई सामाखुशीबाट वीर अस्पताल ल्याउन सजिलो छैन । ट्याक्सीबाट आउजाउ गर्न भाडा महंगो पर्छ । पहिला सामाखुशी नजिक हुँदा त ट्याक्सीमा लैजाँदा भाडा तिर्न मुस्किल हुन्थ्यो । ट्याक्सीको बिलले रिंगटा लगाउँथ्यो । फेरि एकदिन भाडा तिरेर मात्र भएन, हप्तामा दुई पटक डायलासिस गर्नुपर्छ । डायलासिस निःशुल्क भएपनि औषधि र अरु खर्च गर्दा एक पटकमा ५/७ हजार रुपैयाँ सकिन्छ । हप्तामा २ पटक ट्याक्सीमा अस्पताल आउजाउ गर्दा त धान्न नै सकिन्न ।

म ८ वर्षदेखि विदेशमा थिएँ । नेपाल आएको एक वर्ष भयो । विदेशबाट आएदेखि बेरोजगार छु । श्रीमतीको उपचार गर्दागर्दै कमाएको पैसा सकिइसकेको थियो । सरसापट र ऋण गरेर चलाइरहेको थिएँ । लकडाउन सुरु भएदेखि त झन धान्न गाह्रो भएको छ । औषधि किन्न र हातमुख जोर्न नै गाह्रो भइसकेको थियो । खर्च सम्झन थाल्यो भने केही सोच्न नै नसक्ने अवस्थामा पुग्थेँ ।

अस्पताल पनि आउन नसक्ने अवस्थामा भयो । त्यही बेला छिमेकीले ठेला किन्न र त्यसमै राखेर श्रीमतीलाई अस्पताल लैजान सल्लाह दिए । ठीकै लाग्यो । पैसा उनीहरुसँगै सरसापट मागेँ र सामाखुशी नजिकै गएर १४ हजारमा ठेला किनें । ठेला किनेपछि महंगो ट्याक्सी भाडा तिर्नु परेको छैन । आजकल बिहान सबेरै उठेर बजारबाट तरकारी किनेर ल्याउँछु आफू बसेको टोलमा बेच्छु । औषधि किन्नलाई खर्च जुटेको छ । ठेला किनेदेखि सजिलो भएको छ । यो ठेला नकिनेको भए श्रीमतीलाई डायलासिस गराउन ल्याउनसक्ने अवस्था नै हुने थिएन ।

अहिले वीर अस्पतालमा राम्रोसँग डायलासिस भइरहेको छ । कुनै समस्या छैन । डाक्टरहरुले राम्रो सहयोग गरिराख्नुभएको छ । डायालासिस सकिन कम्तीमा ३ देखि ४ घण्टासम्म लाग्छ । त्यसपछि श्रीमतीलाई ठेलामा हालेर फेरि घर लैजान्छु । फेरि अर्को पटक डायलासिस गराउन ठेलामा हालेर नै ल्याउँछु ।

लकडाउन हुञ्जेल यसरी नै आउजाउ गर्नुपर्ला ।

डाक्टरहरुले श्रीमतीको प्रत्यारोपण गर्न सकिने सुझाव दिएका थिए । तर मेरो ब्लड ग्रुप मिलेन । आफन्तको पनि त्यस्तै भयो । अब जिन्दगीभर डायलासिसकै भर पर्नु पर्ला जस्तो छ । समस्या त लकडाउअघि पनि थियो, अहिले पनि छ । तर, आजकल समस्याहरुसँग बानी परिसक्यो । समस्याहरु त दैनिकी जस्ता भए ।

https://ujyaalonepalnews.com/archives/8211

Previous articleआज एकैदिनमा थप ७२ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६७५ पुग्यो
Next articleइण्डोनेसियाबाट भारतले गरिदियो चितवन रत्ननगरकी एक नेपाली विद्यार्थीको उद्धार (भिडियोसहित)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।