हलाे जोतेर दिन काट्दै पुर्वसभामुख महरा
रोल्पा । सत्तारुढ दल नेकपाका नेता तथा पूर्व सभामुख कृष्णबहादुर महरा हलो जोतेको अबस्थामा भेटिएका छन् । कोरोना संक्रमण नफैलियोस् भन्दै सरकारले लगाएको लकडाउनका बेला आप्नो पुर्खाैली घर रोल्पामा पुगेका महराले हलो जोतेको तस्बिर सार्वजनिक भएको हो । गृहजिल्ला पुगेर सामान्य व्यक्ति सरह उनले दैनिकी चलाइरहेका छन् । हाल उनी आफ्नै बारीमा हलो जोत्दै गरेको भेटिन्छन् ।
‘राजनीति गरेदेखि सधै बाहिरको बाहिरै रहनुपर्यो, आफ्नो बारी जोत्ने मौका नै मिलेको थिएन,’ उनले भने, ‘अहिले खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्खाैली घर आएका छौं ।’ ‘हामी जनताबाट चुनिएर गएका व्यक्तिहरु जनताभन्दा पटक्कै फरक होइनौं, जनताको जिवनशैली र हाम्रो जिवनशैलीमा फरक आउनुहुन्न भन्ने मेरो मान्यता हो,’ महराले भने, ‘जिम्मेवारी अनुसार जुनसुकै काम पनि गर्न सक्नुपर्छ, आवश्यक पर्दा नेताको भूमिकामा रहने फरक कुरा हो, तर हामी र जनताबीच फरक हुनुहुँदैन ।’


कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री समेत रहेका महराले नेपालले कृषि उत्पादनलाई बढाउनुपर्नेमा जोड दिए। ‘हामी कृषिमा आत्मनिर्भर हुनैपर्छ, नेपाललाई परनिर्भरमुखी अर्थतन्त्रबाट आत्मनिर्भर बनाउने प्रमुख आधार भनेकै कृषि उत्पादन हो ।
पारिवारिक सदस्यहरुका अनुसार महरा बिहान र साँझ खेतीपातीमा व्यस्त हुन्छन् । दिउँसो भेटघाट र छलफलमा बिताउँछन् । महराका ज्वाइँ पूर्ण केसीले भने, ‘उहाँ पहिलेदेखि नै कडा परिश्रम गर्ने मान्छे हो, अहिले पनि उस्तै काम गर्नु हुन्छ । जोत्ने, खन्ने, छर्ने सबै काम आउँछ उहाँलाई ।’ उनलाई जेठो छोरा एटमले सघाउने गरेको केसी बताउँछन् ।

महराको सम्पत्ति विवरणमा रोल्पाको लिवाङमा दुई तले पुरानो शैलीको एउटा घर र एक तले एउटा गोठ तथा ८ रोपनी सुख्खा पाखो मात्रै रहेको उल्लेख छ । ती सम्पति पनि आफूले भोगचलन नगरी स्थानीय सहकारीलाई दिएको उनले सम्पति विवरणमा उल्लेख गरेका छन् । ती सम्पति सहकारीले फेरि महरालाई नै भोगचलन गर्न दिएको हो कि के हो भन्नेचाहिँ खुलेको छैन ।
यद्यपि महराका ज्वाइँसमेत रहेका रोल्पा नगरपालिकाका मेयर पूर्ण केसीले भने, धेरैजसो जग्गा रोल्पा पोलिटेक्निक कलेजलाई निःशुल्क दान गरेर थोरै पाखो बारी बाँकी राखेको र त्यसैमा महराले खनजोत गरिरहेको बताए ।

सभामुखजस्तो उच्च ओहोदामा पुगिसकेको व्यक्ति पनि कृषिकर्ममा संलग्न हुनुलाई रोल्पाली जनताले सकारात्मक रुपमा लिएको मेयर केसीले बताए । ‘कोरोना भाइरसका कारण विश्वको अर्थतन्त्र तहसनहस भइरहेको बेला कृषि उत्पादनलाई बढाउन गरिने गतिविधिलाई हामी सबैले सकारात्मक रुपमा लिनुपर्छ,’ उनले भने ।
सभामुख पदमा रहेकै बेला एक कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि महरा गत असोज १९ गते पक्राउ परेका थिए । तर फागुन ५ गते अदालतबाट सफाई पाएपछि उनी रिहा भएका थिए । उनले आफू राष्ट्रियताको पक्षमा दृढतापूर्वक उभिएकाले फसाइएको बताउँदै आएका छन् ।

यो प्रकरणपछि महरा धेरैजसो समय आफू निर्वाचित भएको दाङ क्षेत्र नम्बर २ र आसपासका क्षेत्रमा कार्यकर्ता भेटघाटका लागि गइरहन्छन् । पछिल्लो पटक करिब एक साताअघि स्वास्थ्य सामग्रीहरु लिएर महरा दाङ गएका थिए । दाङबाट पनि उनी तीन दिन अगाडि रोल्पा पुगेका हुन् ।
आयो विष्णु माझीको नयाँ तिज गित चरी जेलैमा भाग-२ ( भिडियो सहित )


