आज देखि सार्वजनिक गाडी चल्ने कुरा अफवाह मात्र; कुनै नयाँ निर्णय भएकै छैन
काठमाण्डाै – नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आजदेखि सार्वजनिक गाडी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासङ्घले यस्तो निर्णय नभएको जनाएको हो । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ ।
महासङ्घले गाडी सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ । सरकारले गत चैत ११ मा लकडाउन गरेसँगै देशभरका सार्वजनिक गाडी ठप्प छन् ।


लकडाउन खुकुलो भए संगै ह्वातै बढ्यो कोरोना: २० दिनमै नौ हजार संक्रमित
काठमाडौँ — लकडाउन खुकुलो भएसँगै मुलुकमा कोभिड–१९ संक्रमितको संख्या ह्वात्तै बढेको छ । असार १ यताको २० दिनमा देशभर ९ हजारभन्दा बढी संक्रमित थपिएका छन् । जेठ ३० देखि जोरबिजोर प्रणालीबाट सवारीसाधन सञ्चालन भएको थियो । सरकारी कार्यालय पूर्ण रूपमा सुचारु भएको असार १ मा ६ हजार २ सय ११ जना संक्रमित थिए ।
असार १० मा संक्रमितको संख्या १० हजार नाघ्यो । शनिबारसम्म १५ हजार ४ सय ९१ पुगेको छ । यो बीचमा ९ हजार २ सय ८० जना संक्रमित थपिएका छन् । दुई जना मात्रै संक्रमित हुँदा मुलुकमा लकडाउन घोषणा गर्ने संयन्त्रले अहिले दैनिक ५ सयभन्दा बढी हुँदा पनि प्रभावकारी कदम चाल्न योजना बनाउन सकेको छैन ।

संक्रमितको संख्या दिनहुँ ३ अंकमा बढिरहँदा सरकार र सत्तारूढ दल भने आन्तरिक शक्ति संघर्षमा व्यस्त छन् । अप्ठेरो पर्दा जनतालाई सेवा गर्छौं भन्दै चुनाव जितेर आएका नेताहरू मुलुकमा आगोसरी फैलिरहेको कोरोना नियन्त्रणमा संवेदनशील देखिएका छैनन् । सरकार र सत्तारूढ दलमा नागरिकप्रतिको जिम्मेवारी र संवेदनशीलता कति छ भन्ने पछिल्लो दुई सातायताका घटनाक्रमले छर्लङ्ग पार्छन् ।
नेपालमा शनिबार मात्रै २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण देखिएको थियो । अहिले कुल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ भने ३४ जनाको मृत्यु भइसकेको छ । प्रदेशगत विवरणलाई हेर्ने हो भने प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक/एक जना छन् भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।


