काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गृहमन्त्री ओमप्रकाश अर्याल हटाउन दबाब दिइरहेको भन्ने समाचारप्रति प्रधानमन्त्रीको सचिवालयले खण्डन गरेको छ। आज विज्ञप्ति निकाल्दै प्रधानमन्त्री शुशीला कार्कीको सचिवालयले मन्त्री हटाउन कसैको दबाब नरहेको दाबी गरेको छ।
‘विगत केही दिनदेखि माननीय गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति सम्माननीय प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण भएको छ।’ विज्ञप्तिमा भनिएको छ,’कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध सम्मानीय प्रधानमन्त्रीज्यूको अधिकारक्षेत्रको विषय हो। कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन पनि सक्दैन।’
प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खट्नुभएको छ।’





