सौराहामा रास्वपाको विस्तारित बैठक शुक्रबारदेखि सुरु, तयारी पूरा

Click Image

चितवन, रत्ननगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक शुक्रबारदेखि चितवनको पर्यटकीय नगरी सौराहामा सुरु हुँदैछ। पार्टीले सौराहा सभाहलमा कार्तिक २१ र २२ गते दुईदिनसम्म बैठक सञ्चालन गर्ने तयारी पूरा गरेको जनाएको छ।

पार्टीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैठकका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिइएको हो। बैठकको उद्घाटन शुक्रबार विहान कार्यवाहक सभापति डोलप्रसाद (डीभी) अर्यालले गर्नेछन्।

रास्वपाका प्रवक्ता मनिष झाका अनुसार बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफलसँगै आगामी निर्वाचनका लागि पार्टीको चुनावी बाचनापत्र (म्यानिफेस्टो) परिमार्जन गर्ने तयारी गरिएको छ। बैठकमा चार वटा प्रस्तावमाथि गहन छलफल हुने बताइएको छ।

बैठकमा कार्यवाहक सभापति अर्यालले राजनीतिक प्रतिवेदन, उपसभापति स्वर्णिम वाग्लेले बाचनापत्र सम्बन्धी प्रतिवेदन, महामन्त्री कविन्द्र बुर्लाकोटीले संगठन विस्तार तथा संरचना सम्बन्धी प्रतिवेदन, र सहमहामन्त्री विपिन आचार्यले निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सम्बन्धी प्रतिवेदन पेश गर्ने छन्।

बैठक व्यवस्थापन समितिका संयोजक तथा पार्टी सचिवालय सदस्य हरि ढकालका अनुसार बैठकमा जेन-जी आन्दोलनपछिको राजनीतिक अवस्था, आगामी निर्वाचनका रणनीति, र चुनावी बाचनापत्रको पुनरावलोकनबारे विस्तृत छलफल हुनेछ।

उनका अनुसार बैठकमा केन्द्रीय समिति, प्रदेश पदाधिकारी, केन्द्रीय विभागका पदाधिकारी, सल्लाहकार परिषद् र जिल्ला अध्यक्षहरू गरी जम्मा ५१२ जना प्रतिनिधि सहभागी हुनेछन्।

Previous articleजेनजी आन्दोलन जाँचबुझ आयोगले रवि लामिछानेसँग सोधपुछ गर्दै
Next articleरत्ननगरमा अटोबाट लडी महिला घाइते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।