विदेशबाट सरकारी खर्चमा उद्धारका लागि सूचि बनाउने जिम्मा दूतावासको
कोभिड १९ का कारण समस्यामा परी अलपत्र परेर स्वदेश फर्किनु पर्ने अवस्थामा रहेका तथा स्वदेश फर्किने खर्चको अभाव भएकाहरुको सूचि बनाउन गन्तव्य मुलुक स्थित नेपाली दूतावासहरुलाई जिम्मा दिने भएको छ । सरकारले अलपत्र परेकाहरुलाई स्वदेश फर्काउने निर्देशिका पारीत गरेपछि वैदेशिक रोजगार बोर्डले सो अनुरुप स्वदेश फर्काउनु पर्नेहरुको सूचि बनाउन आग्रह सहित दूतावासहरुलाई पत्राचार गरेको छ ।


बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठका अनुसार बोर्डले परराष्ट्र मन्त्रालय मार्फत गन्तव्य मुलुकहरुमा रहेका नियोगहरुलाई पत्राचार गर्नेछ । रोजगारदाताले फर्किने टिकट उपलव्ध नगराएका तथा आफ्नै खर्चमा स्वदेश फर्किन नसक्नेहरुको लागत खर्च सहितको सूचि दूतावासहरुले पठाएपछि बोर्डले सो वापतको रकम उपलव्ध गराउनेछ ।

दूतावासहरुले एकहप्ताको हाराहारीमा सूचि बनाएर पठाउने अपेक्षा गरिएको श्रेष्ठले बताए । सर्वोच्च अदालतको गत असार १ गतेको आदेश अनुसार सरकारले झण्डै एक महिना लगाएर निर्देशिका तयार पारेको छ । सो निर्देशिका अनुसार अव सिमित व्यक्ति सरकारी खर्चमा स्वदेश फर्किन पाउनेछन् ।

रोजगारदाताले फर्किने टिकट नदिएका, श्रमिक पठाउने म्यानपावर कम्पनीले प्रयत्न गर्दा पनि नभएका, वैदेशिक रोजगारीमा गएको निश्चित अवधि पुरा नभएका र आफ्नै खर्चमा फर्किन नसक्ने अवस्थाका लगायत विभिन्न प्रावधान भित्र पर्नेहरु सरकारी खर्चमा स्वदेश फर्किन सक्नेछन् । अरबनेपाल डटकम बाट



