भदौ १ देखि सुरु हुँदैछ उडान, यस्ता छन् विमानस्थल र जहाजमा बस्दाका नियम

भदौ १ देखि सुरु हुँदैछ उडान, यस्ता छन् विमानस्थल र जहाजमा बस्दाका नियम

काठमाण्डौ – कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणको लागि सरकारले गएको चैत ९ गतेदेखि आन्तरिक र बाह्य उडान बन्द गरेको छ । उद्धार र कार्गो उडान भइरहे पनि यात्रु बोकेर नियमित रुपमा जहाज उडेका छैनन् । तर आउँदो भदौ १ गतेदेखि भने सरकारले सुरक्षाका मापदण्ड अपनाएर आन्तरिक र बाह्य दुवै उडान खुलाउने निर्णय गरेको छ । कोरोनाको जोखिम रहे पनि उच्च सतर्कता अपनाएर उडान गर्ने तयारी छ ।

यसको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना महामारीको बीचमा हुने उडानको लागि निर्देशिका बनाएको छ, विभिन्न जहाज कम्पनीले पनि मापदण्ड बनाएका छन् । उनीहरुले पूर्ण सतर्कताका साथ उडान हुने दाबी गरेका छन् ।

विमानस्थल, यात्रु र जहाजमा यस्ता हुनेछन् नियम

चैत ९ गतेदेखि बन्द रहेको आन्तरिक र वाह्य उडान भदौ १ गतेदेखि सुरु गर्न विमानस्थल र हवाई कम्पनी तम्तयार अवस्थामा छन् । कोरोनाबाट बच्दै र बचाउँदै उडान सुरु गर्न तयार रहेको उनीहरुको भनाइ छ । अहिले पनि विदेशीहरु नेपालबाट गइरहेको र उद्धार उडानमार्फत नेपाली आइरहेकाले विमानस्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नै भएका छन् । भदौ १ गतेदेखि थप कडाइ हुनेछ ।

मास्क नलगाएका व्यक्तिलाई विमानस्थलको मूल गेटबाट नै प्रवेशमा रोक लगाइने छ । एक सय चार डिग्री फरेनहाइट ज्वरो भएका, रुखाखोकी र स्वाद र सुँघ्ने क्षमता कम भएका व्यक्तिलाई विमानस्थलभित्र प्रवेशमा रोक लगाइएको छ ।

७० वर्ष माथिका व्यक्ति, गम्भीर रोग लागेका र गर्भवतीलाई सकभर जहाज नचढ्न प्राधिकरणले आग्रह गरेको छ । हरेक यात्रुले सबै विवरणसहितको फारम भर्नु पर्नेछ । विमानस्थल परिसरमा एक मिटरको दूरी अनिवार्य कायम गर्नु पर्नेछ । विमानस्थलभित्रका एअरलाइन्सका काउन्टरमा सिसा लगाइएको छ । यात्रु उभिनको लागि रेखा नै कोरिएको छ ।

आगमन र प्रस्थान कक्षको बस्ने ठाउँमा एउटा कुर्सी खाली राखेर मात्रै बस्नुपर्नेछ । विमानस्थल र हवाई कम्पनीका कर्मचारीले मास्कको साथमा पञ्जा, भाइजर र पीपीई अनिवार्य रुपमा लगाउने छन् । ठाउँ-ठाउँमा स्यानिटाइजर राखिएको छ । प्रस्थान कक्षबाट जहाजसम्म यात्रु लैजाने बस हरेक पल्ट नि-सङ्क्रमण गर्नुपर्नेछ । जहाजलाई पनि उडान पिच्छे नि-सङ्क्रमण गराउनुपर्नेछ । जहाजमा पाइलट र विमान परिचालिकाले मास्क, भाइजर र पीपीई लगाउनेछन् ।

आन्तरिक जहाजभित्र खाना/खाजा निषेध गरिएको छ । कुकुर/बिरालो बोक्न पाइने छैन, समाचारपत्र पनि बोक्न पाइने छैन । स्वास्थ्य सुरक्षा सतर्कता नअपनाउने र जहाजका कर्मचारीसँग विवाद गरेमा यात्रुलाई तत्कालै कारबाही हुनेछ ।

‘हामीले पूर्ण सतर्कता अपनाएका छौँ, यात्रुले पनि ख्याल गरिदिनुपर्‍याे’

Tribhuwan International Airport
Tribhuwan International Airport

भदौ १ गतेदेखि उडान गर्नको लागि सबै एअरलाइन्सले पूर्वतयारी गरिरहेका छन् । विमानस्थलमा रहेका आफ्ना काउन्टरदेखि कर्मचारी र जहाज तयारी अवस्थामा रहेको उनीहरुको भनाइ छ । केही कम्पनीले उडान अभ्यास नै सम्पन्न गरिसकेका छन् । सरकारले भनेका सबै मापदण्ड तथा निर्देशिकाअनुसार उडान गर्न आफूहरु तयार रहेको तर कोरोनाबाट बच्न र बचाउन यात्रुको पनि उत्तिकै भूमिका हुने भएकाले सहयोग गरिदिन उनीहरुको आग्रह छ ।

‘हामी त पूर्ण रुपमा तयार छौँ, प्राधिकरणले भनेका सबै मापदण्ड पूरा गरेका छौँ, तर हामीले गरेर मात्रै हुँदैन, आफूलाई शङ्का लागेका व्यक्ति जहाजमा गइदिन भएन, स्वःघोषणा गरिदिनुपर्छ, कोरोनाबाट आफू पनि बच्ने र अरुलाई पनि बचाउने भावना सबैमा हुनुपर्‍यो’ श्री एअरलाइन्सका प्रवर्धक अनिल मानन्धरले  भन्नुभयो ।

कोरोना सकिएपछि मात्रै जहाज उडाउँदा यो व्यवसाय नै टाट पल्टिने भएकाले अहिले कोरोनाबाट पनि बच्ने र व्यवसाय पनि बिस्तारै उठाउने उडान सुरु गर्ने तयारी भएको मानन्धरको भनाइ छ ।

आन्तरिकतर्फ दुई घण्टा र बाह्य उडानका यात्रु चार घण्टा पहिले विमानस्थल जानुपर्ने

नियमित उडानको लागि विमानस्थल तयार रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार कोरानाको रोकथामको लागि गरिने क्रियाकलापका कारण विमानस्थल आधा क्षमतामा मात्रै चल्नेछ । ‘कोरोनाबाट बच्ने गतिविधि अपनाउँदा पहिले जस्तो क्षमतामा विमानस्थल चल्दैन, थोरै क्षमतामा स्वास्थ्य सुरक्षाका पूर्ण मापदण्डसहित चलाउन हामी तयार छौँ’, विमानस्थलका महाप्रबन्धक केसीले भन्नुभयो ।

अब आन्तरिकतर्फका यात्रु दुई घण्टा पहिले र अन्तर्राष्ट्रिय उडानतर्फका यात्रु चार घण्टा पहिले नै विमानस्थल पुग्नुपर्नेछ । शङ्का लागेका व्यक्तिलाई तत्कालै विमानस्थलकै आइसोलेशन कक्षमा लगिनेछ । विमानस्थलमा हेल्थ डेस्क र एम्बुलेन्स तयारी अवस्थामा रहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताउनुभयो । अर्जुन पोख्रेल/ उज्यालो अनलाईन 

राष्ट्रपति पौडेलको स्वास्थ्य परीक्षण: स्वास्थ्य अवस्था सामान्य

Previous articleमेरो सुत्र सबैभन्दा पहिले महानायक राजेश हमाललाई सिकाउन मन छ – ‘मेमोरी किङ्ग’ विजय शाही (भिडियोसहित)
Next articleउ’द्धार उडान मार्फत खा’डी बाट आएकी गर्भवतीले जन्माएकी थिईन् शिशु, कार्टुनमा फालिएको बच्चा बारे स’नस’नीपूर्ण खु’लासा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।