साथीहरुको नाचगान हेर्नेक्रममा चार तलाबाट खसिन् किशोरी

भरतपुर । शैक्षिक भ्रमणमा सौराहा आएकी एक किशोरीको चार तलाबाट खसेर मृत्यु भएको छ । कक्षा ११ मा पढ्ने १८ वर्षकी स्नेहा पाख्रिन साथीहरुको नाचगान हेर्नेक्रममा होटलको चार तलाबाट खसिन् । उपचारका क्रममा रत्ननगर बकुलहर अस्पतालमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार शैक्षिक भ्रमणमा सौराहा घुम्न आएकी पाख्रिन चार तलाबाट खसेर गम्भीर घाइते भएपछि तत्कालै बकुलहर रत्ननगर अस्पताल पु¥याइएको थियो । उनको उपचारकै क्रममा बुधबार राति ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । घटना ११ः२० बजेको हो ।

सिन्धुली कमलामाई नगरपालिकाको सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजले ९५ जना विद्यार्थी सौराहा घुमाउन ल्याएको थियो ।

सिन्धुली जिल्ला कमलामाई नगरपालिका वडा नं–६ को सिद्धबाबा प्लस टु म्यानेजमेन्ट कलेजले ९५ जना विद्यार्थीलाई घुमाउन सौराहा ल्याएको थियो । कलेज व्यवस्थापन समितिका अध्यक्ष खड्क खत्रीका अनुसार बुधबार बिहान ६ बजे कलेजबाट हेटौँडा, चितवन, पोखरा, काठमाडौँ हुँदै पुनः सिन्धुली फर्कने तालिका बनाएर शैक्षिक भ्रमणमा तीनवटा बसमा ९५ जना विद्यार्थी निस्केका थिए । शैक्षिक भ्रमणमा १० जना शिक्षक, कर्मचारी थिए ।

‘हेटौँडाको शहीद स्मारक पार्क घुम्यौँ, विद्यार्थीहरुलाई नारायणी नदीमा बोटिङ पनि गरायौँ, नवलपरासीको सिजी पनि पुग्यौँ । जब रात पर्न थाल्यो अनि बासका लागि सौराहा आएर होटल पार्क साइडमा बस्यौँ’, अध्यक्ष खत्रीले भने, ‘हामी १०५ जना सबै यही होटलमा बसेका थियौँ, म आफैँ विद्यार्थीको निगरानीमा खटिएको थिएँ ।’

बास बस्ने होटलमा पुगेपछि विद्यार्थीहरुले दिनभरको घुमाइको अनुभव साटासाट गरेका थिए । कोही नाचगान गरिरहेका थिए । कोही होटलमाथिको कोठाबाट सौराहा नगरी हेरिरहेका थिए ।

‘रात छिप्पिँदै जान थालेपछि सबै विद्यार्थीलाई कोठा–कोठामा पु¥याइयो, सबै सुत्न गए । हामी पनि आफ्नो कोठामा आयौँ’, कमलामाई नगरपालिकाका पूर्वप्रमुख तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खत्रीले भने, ‘होटल तलको कोठाबाट बाहिर निस्केर हाम्रा केही विद्यार्थीले गिटार बजाउँदै नाचगान गर्न थालेछन्, त्यही साथीहरुको नाचगान हेर्नेक्रममा स्नेहा पाख्रिन चार तलामाथि चिप्लेर झ्यालबाट खसिछन्, यस्तो दुःखद घटना घट्यो ।’

घटना घटेको पाँच÷सात मिनेटमा स्नेहालाई रत्ननगर बकुलहर अस्पताल ल्याइपु¥याइएको थियो । उपचारको क्रममा चिकित्सकहरुले मृत घोषणा गरेका उनले बताए । ‘ज्यादै नरमाइलो भयो, भ्रमणमा आएका सबै विद्यार्थीमा रूवावासी चल्यो, भ्रमण तत्काल स्थगित गरेका छौँ’, अध्यक्ष खत्रीले भने, ‘विद्यालय सम्पूर्ण परिवार शोकमा डुबेको छ, अकल्पनीय दुःखद निधन भयो, विद्यालय परिवार अत्यन्तै मर्माहत भएको छ, शोकको घडीमा मृतात्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ ।’

स्नेहाको निधनप्रति विद्यार्थीहरु गहिरो शोकमा छन् । विद्यार्थीहरुका अनुसार स्नेहा म्यानेजमेन्टकी विद्यार्थी हुन् । उनले सिद्धबाबा मावि पानीट्याङ्कीबाट एसइई उत्तीर्ण गरेकी हुन् । कक्षा ११ की मध्यम विद्यार्थी उनी साथीसँग चाँडै घुलमिल हुन सक्ने र वाककलामा सिपालु थिइन् ।

कमलामाई नगरपालिका वडा नं–६ का वडाध्यक्ष उज्ज्वलकुुमार थापाका अनुसार स्नेहाको भरतपुर अस्पतालमा पोस्टमार्टम भएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्ने जनाएको छ । कागजी प्रक्रिया पूरा भएको छ । परिवारले शव बुझेका छन् ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष खत्रीका अनुसार बिहीबार बेलुका भरतपुरबाट शव सिन्धुली, कमलामाई नगरपालिका वडा नं–६ लगिएको छ । दाहसंस्कारको काम शुक्रबार बिहान हुने उनले बताए । तीन दिदीबहिनीमध्ये स्नेहा जेठी हुन् । वैदेशिक रोजगारीमा रहेका उनको बुबा यही दसैँमा घर आएका थिए ।
चितवनबाट किशोर खनालले लेखेको यो समाचार हामीले चितवन पोष्ट दैनिकबाट साभार गरेका हौ ।

Previous articleरविलाई ‘ब्याक टु ब्याक’ भेटेका ज्ञानेन्द्र शाही भन्छन्- उहाँलाई फसाइएकै हो
Next articleहत्या अभियोगमा रत्ननगरका दराई पक्राउ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।