यूएई – दुई हप्तामा १५ उडान फिक्स भएपछि दूतावास भन्यो – स्वदेश फर्कनेले तुरुन्त टिकट लिइहाल्नु
काठमाडौँ – कोरोना भाइरसको महामारीपछि यूएईमा अप्ठ्यारोमा परेका नेपालीहरूको सोमबारदेखि फेरि अर्को चरणको उद्धार शुरू गरिदै छ । आबुधाबीस्थित नेपाल राजदूतावासले नेपाल फर्कन विभिन्न माध्यमबाट नाम टिपाएका नेपालीलाई पायक पर्ने स्थानमा एयरलाइन्सबाट टिकट लिन अनुरोध गरेको छ । दुवईस्थित दूतावासले आइतबार एक सूचना जारी गर्दै सोमबारदेखि ३१ अगष्टसम्मको लागि उडान तय भएको जानकारी दिएको हो ।

पाँच एयरलाइन्सले यूएइबाट काठमाडौँका लागि उडान गर्ने छन् । नेपाल एअरलाइन्सको दुबईबाट अगष्ट १७, २१, २५, २७,२९, ३१ तारिखमा उडान हुने तय भएको छ । हिमालय एयरलाइन्सको उडान अबुधाबीबाट अगष्ट २५, २७, २९, ३१ तारिखमा हुन लागेको दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

यसैगरी, एयर अरेबियाको शारजहाँबाट अगष्ट २५ र ३१ तारिकमा हुने तय भएको छ । फ्लाई दुबईको जहाज दुबईबाट अगष्ट १७ र २० तारिकमा उडनेछन् । यस्तै इतिहाद एयरवेजको २७ अगष्टमा उडान हुने भएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ ।

यो उडानमार्फत नेपाल फर्कनका लागि जुलाई २१ तथा अगष्ट १३ मा सार्वजनिक गरिएको सूचीमा परेका नेपालीले टिकट काट्न सक्नेछन् । नेपाल फर्कनका लागि कोरोनाको पीसीआर तथा आरडीटी वा यात्रा गर्न योग्य भएको प्रमाणपत्र साथमा हुनुपर्ने छ ।

कोभिड १९ क्राइसिस म्यानेजमेन्ट कमिटी सीसीएमसीका अनुसार साउन ३० गतेसम्ममा यूएईबाट १४ हजार ३ सय १४ जना नेपाली स्वदेश फर्किइसकेका छन् । दुताबासको सुचना यस्तो छ !


