सहकारी दिवसमा चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण

चितवन, — ६९ औँ सहकारी दिवसको अवसरमा रत्ननगर १६ हात्तीगाडेमा रहेको एकीकृत कृषक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कालिका नगरपालिका–११ रन्तेसस्थित विद्यालयमा अध्ययनरत ८० जना चेपाङ बालबालिकालाई झोलासहित स्टेसनरी सामग्री वितरण गरेको छ।

विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा सहकारीका अध्यक्ष विष्णु अर्याल, सचिव लक्ष्यबहादुर गुरुङ, कोषाध्यक्ष सन्तोषी घिमिरे, व्यवस्थापक रमेश कुँवर तथा शिक्षा समिति संयोजक सिता नेपाललगायतले संयुक्त रूपमा विद्यार्थीहरूलाई सामग्री हस्तान्तरण गरेका थिए।

सो अवसरमा अध्यक्ष अर्यालले सीमान्तकृत समुदायका बालबालिकालाई सहयोग गरेर सहकारी दिवस मनाउँदा आत्मसन्तुष्टि मिलेको बताए। उनले ठूला औपचारिक कार्यक्रमभन्दा आर्थिक अभावका कारण शैक्षिक सामग्री किन्न नसक्ने विद्यार्थीलाई सहयोग गर्न पाउँदा सहकारी परिवार नै खुसी भएको उल्लेख गरे।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश प्रजाले कमजोर आर्थिक अवस्थाका कारण आवश्यक सामग्री नहुँदा केही विद्यार्थी विद्यालय नै नआउने अवस्था रहेको बताउँदै यस्तो सहयोगले पढाइमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा कालिका नगरपालिका–११ का वडा अध्यक्ष कृष्णबहादुर प्रजा, सहकारीका कार्यसमिति सदस्य, विभिन्न उपसमितिका पदाधिकारी तथा सल्लाहकार समितिका सदस्यहरूको समेत उपस्थिति रहेको थियो।

शिक्षा समिति संयोजक सीता नेपालले स्वागत मन्तव्य राखेको कार्यक्रम सदस्य दिलीप खनियाँले सञ्चालन गरेका थिए।

Previous articleनेपाल मा.वि भ्रष्टाचार प्रकरण: अख्तियारको पुनरावेदन सर्वोच्चमा
Next articleहर्क साम्पाङ भन्छन्, ‘नैतिकताको सवाल खडा भयो, पत्रकार सम्मेलन राखिहाल्नुस्’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।