काँही नभएको जात्रा चितवनको भद्रकालीमा

निराजन घिमिरे, नेपालमा देशभर फैलिएर शिवालय र देवी स्थानहरू रहेका छन् । पौराणिक कालदेखि महत्वपूर्ण भनिएका स्थलहरू अहिलेको पुस्ताका लागि अझ महत्वपूर्ण बनेका छन् । विगतमा ससाना क्षेत्रका राजारजौटाले धेरै देवीदेवताका मठमन्दिर बनाएका भए पनि मूल रूपमा महादेव र कालीदेवीका स्थलहरू स्थापना गरेको पाइन्छ । तत्कालीन समयमा बस्तीदेखि टाढा एकान्त, शान्त, पानीको स्रोत, हरियाली, डाँडा र वन भएका स्थानमा यस्ता मठमन्दिर स्थापना गरिएका छन् । कतिपय अन्य सामान्य स्थानमा पनि रहेका छन् ।

देवी देवताको दर्शन आजापुजा गरेर आशीर्वाद लागोस् वा नलागोस्, यस्ता मठमन्दिरमा पुग्ने मानिसको रोगव्याधि, तनाव, पीर, व्यथा, विघ्नबाधा, रिसराग त्यसै कमजोर हुन्छ र मनोबल, आन्तरिक ऊर्जा र इच्छाशक्ति बढेर आउँछ । मानसिक र शारीरिक स्वास्थ्यका लागि यस्ता स्थानको भ्रमण र अवलोकन महत्वपूर्ण हुन्छ । बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई मनमा शान्ति र मनोरञ्जन दिने यस्ता स्थलहरूको महत्व घट्न नदिन यसको प्राकृतिक अवस्थालाई स्थायित्व दिनु आजको चुनौती हो ।

यस्तै चुनौतीहरुसंग पौठाजोरी खेल्दै जोगाईएको चितवन रत्ननगरमा रहेको भद्रकाली मन्दिर माथि गरिएको भद्दा मजाक हेर्ने मौका हिजो चैत्र ३१ गते मिल्यो । भद्रकाली भजन मण्डलीले मन्दिर प्रांगणमा स्थापना गरेको राधाकृष्ण मन्दिरमा मुर्ति अनावरण र उद्घाटन गर्ने बारे बैठक रहेछ । स्थानीय युवा क्लबको अध्यक्षको नाताले बैठकको निम्तो थियो बिहान ७ बजेलाई । ७ बजे मन्दिर पुग्दा गेटमा ताल्चा झुन्डिरहेको थियो ।

धन्न ‘सिजापती बा’ ले मन्दिर संरक्षणमा लगाईएको तारबार भत्काईदिएका थिए र त्यहिँ बाट मन्दिर परिसरमा छिर्न पाईयो, नत्र बाहिरै कुरिरहनुपर्ने। भित्र त छिरियो तर त्यँहाको दृश्यले निकै दुखित र अचम्मित पनि बनायो । देबीको मन्दिर, शिव मन्दिर अनि शिव मन्दिर अगाडीको बसाहा भएको ठाउँमा निकै भद्दा, असुहाउँदो र अप्रिय लाग्ने गरि ‘दाता’ हरुको नाम लेखिएको थियो ।

भद्रकाली देवीको मन्दिरमा लेखिएको दाताको नाम

मैले जिन्दगीको ३२ वर्षको उमेरमा कुनै पनि धार्मिक स्थलमा यस्तो ‘मजाक’ देखेको थिइनँ । म आफै एउटा धार्मिक आस्था भएको मान्छे पनि हुँ । कतै कामले गएका बेला वा घुम्न नै गएको बेला पनि नजिकै कुनै मठमन्दिर छ भने दर्शन गरेर नै फर्कन्छु । तर यस्तो किसिमको ‘लज्जास्पद’ कार्य चै जिन्दगीमै पहिलो पटक देख्न पाईयो। मन्दिरको छानाको त्यस्तो कन्तबिजोक छ, जस्ता चुहिएर आधा पानी बाहिर आधा भित्र हुन्छ, त्यो मर्मत गर्ने पहल कसैले गर्दैन तर प्रचारप्रसारको चै कत्रो मोह?

शिव मन्दिर अगाडी रहेको बसाहा लेखिएको दाताको नाम

मन्दिरलाई त सकेसम्म राम्रो बनाउने हो, चिटिक्क मनाउने हो, सुन्दर बनाउने हो । तर यँहा त भएको सुन्दरता रंग पोत्ने काम भएको छ । हो दाताहरुको नाम लेख्नुपर्छ, उँहाहरुको योगदान र समर्पणलाई कदर गर्न पर्छ तर त्यसको नाममा मन्दिर माथि यस्तो भद्दा मजाक गर्न पाईदैन। नामै देखाउने ईच्छा हो भने यो भन्दा ठुला अक्षरमा गतिलै बोर्ड बनाएर मन्दिर छेउमा राखिदिएको भए पनि हुन्थ्यो !

शिव मन्दिरमा निकै अशोभनीय तरिकाले लेखिएको दाताको नाम

 

त्यो भन्दा अगाडी पनि मन्दिरमा धेरैले सहयोग गरेका छन् । तिनको नाम पनि यसरी नै लेख्न सकिएला? तिनको चै किन उता आश्रमको भित्तामा मात्र सिमित गर्ने ? अब ति सबै नाम ल्याएर मन्दिर भरिने गरि लेखिदिउं । अर्को कुरा अब कसैले म मन्दिरको छाना फेरिदिन्छु भन्ला उसको नाम कंहा लेख्ने?

आफुले सबैभन्दा माया गरेको धार्मिक स्थलमा यस्तो उदेक लाग्दो दृश्य देखिएपछी ” म आफै पो गलत हुँ कि, अन्य मन्दिरमा पनि यस्तै पो हुन्छ कि’ भनेर हेर्न मन लाग्यो । अनि बाईक लिएर जुटपानीको कालिका मन्दिरमा पुगे । त्यँहा रहेका ५ मन्दिर मध्य २ मन्दिरमा कुनै दाताको नाम  वा बनाउने व्यक्तिको नाम फेला परेन।  ३ ओटा मन्दिरमा चै यसरी दाताको नाम लेखिएको रहेछ ।

दृश्य १ :

चितवन कालिका नपा जुटपानीमा रहेको कालिका मन्दिर परिसर भित्र रहेको सरस्वती मन्दिरमा यस्तो रहेछ ।

सरस्वती मन्दिर, कालिका चितवन

दृश्य २

चितवन कालिका नपा जुटपानीमा रहेको कालिका मन्दिर परिसर भित्र रहेको शिव मन्दिरमा यस्तो रहेछ ।

शिव मन्दिर, कालिका चितवन

दृश्य ३

चितवन कालिका नपा जुटपानीमा रहेको कालिका देवी मन्दिरमा ढोकाको देब्रे पट्टि करिब डेड फिट उचाई र १ फिट चौडा शिलामा यस्तो लेखिएको रहेछ ।

कालिका मन्दिर, कालिका नपा, चितवन

दृश्य ४

त्यसै गरि रत्ननगर १६ कै शिवालय चोकमा रहेको शिव मन्दिरमा मन्दिरको पश्चिम पट्टि भित्तामा दाताहरुको नाम यसरी लेखिएको रहेछ ।

 

शिव मन्दिर, रनपा १६ शिवालय चोक

दृश्य ५ 

यस्तै रत्ननगर १६ दोबाटोमा रहेको गणेश मन्दिर पनि विभिन्न दाता कै सहयोगमा बनेको बुझियो । तर मन्दिरमा कुनै दाताको नाम लेखिएको फेला परेन ।

गणेश मन्दिर, रत्ननगर १६ दोबाटो

तिन ठाउँमा पुगेर ७ ओटा मन्दिर नियाल्दा भद्रकालीको जस्तो हरिबिजोक अन्त देखिएन । कतै दाताको नामै भेटिएन, कतै दाताहरुको नाम निकै व्यवस्थित र सम्मानित तरिकाले राखेको पाईयो। आशा गरौ मन्दिर व्यवस्थापनले छिट्टै यस्तो गल्ती सुधार गर्ने छ। ब्रम्हाजीले सबैभन्दा राम्रो प्राणी बनाउँछु भन्दा उंट बनेको थियो रे त्यस्तै भएको पनि हुन सक्छ । ब्रम्हाले आफ्नै सन्तान मार्न सकेनन्, हामी त भुल सुधार गर्न सक्छौ नि ।

https://ujyaalonepalnews.com/archives/14026

Previous articleवैदेशिक रोजगार: अभीमुखीकरणको बायोमेट्रिक हाजिरीबारे बैशाख १२ पछि क’डाई
Next articleकतारमा नयाँ नियम: कतारमा कामदारको स्वास्थ्य बीमा अनिवार्य
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।