गल्फ राष्ट्रका राजपरिवारमा सगरमाथा मोह; फेरी अर्का राजकुमारले गरे सफल आरोहण
काठमाडौँ — लकडाउनका बेला नेपाल आएर उत्तरी गोरखाको मनास्लु हिमाल र खुम्बु क्षेत्रको लोबुचे हिमाल आरोहण गरेका बहराइन अधिराज्यको एक राजपरिवार सदस्यसहित १२ जनाको ‘बहराइन रोयल गार्ड सगरमाथा आरोहण दल’ ले मंगलबार बिहान सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । यो आरोहणको व्यवस्थापन गर्ने सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, बिहान साढे ५ बजेदेखी पौने ७ बजेसम्मको समयमा सगरमाथा आरोहण गरेको बहराइनी आरोहण दलमा राजपरिवारका सदस्य सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाबाहेक अन्य ११ जना त्यहाँको रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत सैनिक थिए ।
यो आरोहण दलसँगै २६ जना शेर्पा गाइडहरुले पनि उनीहरुसँगै चुचुरोमा पाइला राखेका थिए । सेभेन समिटका अध्यक्ष मिङ्मा शेर्पाका अनुसार बहराइनको टोलीलाई बुधबार ५ वटा हेलिकप्टरबाट काठमाडौं ल्याउँदै छ । उनीहरु चाडै विशेष चार्टर उडानबाट बहराइन फर्किने कार्यक्रम रहेको छ । चुचुरोमा रहेकै बेला बहराइनका राजा हमाद बिना इसा अल खलिफाले उनीहरुलाई फोन गरेर बधाई दिएका थिए ।
राजा र राजपरिवारका सदस्य सेख मोहम्मद हमाद मोहम्मद अल खलिफाबीच भएको टेलिफोनको अडियो संवाद बहराइन टोलीको इन्स्टाग्राम पेजमा राखिएको छ । उक्त अडियोमा उक्त मुलुकका थुप्रै नागरिकले राजपरिवार सदस्यसहितको टोलीको प्रशंसा व्यक्त गरेका छन् । ‘बहराइनको राजपरिवार सदस्यसहित रोयल गार्डले कोरोना महामारीका बेला विश्वकै अग्लो चुचुरो सगरमाथामा सफल आरोहण हुनुले अब नेपाल मध्यपूर्वी मुलुकहरुका लागि आर्कषक गन्तव्यका रुपमा खुल्यो भन्ने ठूलो सन्देश प्रवाह भएको छ,’ नेपाल पर्यटन बोर्डका सीईओ धनञ्जय रेग्मीले भने, ‘ यो आरोहणले नेपालले थुप्रै विदेशी फोरममा खर्च हुने करोडौं रकम जोगाइदिएको छ । त्यत्रो प्रचार भएको छ । अब युरोप मन पराउने मध्यपूर्वी मुलुकका नागरिक प्रकृति हेर्न नेपाल आउने सम्भावना देखियो ।’
![]()
सीईओ रेग्मीले हाई–इन्ड पर्यटक गुहार्न अमेरिका र युरोप जानै पर्ने नेपाली पर्यटन व्यवसायीहरुको बाध्यता बाट नेपाल अघि बढेको बताउदै अबका कार्यक्रम बहराइन, कतार, दुबईलगायतका मुलुकमा केन्द्रित हुनुपर्ने बताए । यो टोलीले सगरमाथा आरोहण गर्नुअघि गत वर्षको लकडाउन (असोज) मा लोबुचे र मनास्लु हिमाल आरोहण गरेको थियो । त्यो आरोहणलाई उनीहरुले विश्वकै अग्लो चुचुरो सगरमाथा चुम्नका लागि गरिएको पूर्वाभ्यास भनेका थिए ।
त्यसताका नेपाल सरकारले उनीहरुको विशेष विमानलाई मन्त्रिपरिषदबाट काठमाडौं अवतरणको अनुमति दिइएको थियो । ती हिमालमा अभ्यास गरेर उनीहरु स्वदेश फर्केका उनीहरु चैत पहिलो साता केही मात्रा खोपसहित बहराइन डिफेन्स फोर्सको एभ्रो जहाजमा काठमाडौं ओर्लिएका थिए । स्वास्थ्य मापदण्ड पूरा गरेर उनीहरु चैत अन्तिममा लुक्ला हुँदै सगरमाथातर्फ लागेका थिए ।
राजपरिवारकै सदस्य सम्मिलित टोलीले वसन्तकालीन याम (चैत–वैशाख) मा सगरमाथा आरोहण गर्ने अनुमति पाएपछि यी भीभीआईपीलाई यसपटक पनि नेपालमा रहुन्जेल विशेष शुरक्षा प्रदान गरिएको छ । यो आरोहण दलमा १२ जना बहराइनका नागरिक र तीन जना बेलायती नागरिक छन् । ती बेलायती पनि रोयल गार्डमै कार्यरत सैनिक हुन् । सेभेन समिटका अनुसार, राजपरिवारका सदस्य सेख मोहम्मदको राहदानीमा उनलाई ‘प्रिन्स’ (राजकुमार) उल्लेख गरिएको छ ।
लोबुचे र मनास्लु हिमाल आरोहण गर्दा यस आरोहण दलमा १८ जना थिए । यसपटक तीन जना रोयल गार्ड भने सगरमाथा आरोहणका लागि नेपाल आएनन् । सन् २०२० मा पनि नेपाली हिमाल आरोहण गर्ने यो पहिलो टोली बनेको थियो । त्यसबेला लकडाउनमा अन्य विदेशी आरोही भने नेपाल आउन सकेका थिएनन् ।
यसैबीच मंगलबार नेपाली हेलिकप्टर पाइलट सोबित गौचनले पनि सगरमाथा आरोहण गरेका छन् । उनी सगरमाथा आरोहण गर्ने पहिलो नेपाली पाइलट भएको सेभेन समिटले जनाएको छ । यसैबीच मंगलबार मात्रै कान्छो पाकिस्तानी आरोहीसहित ६८ जनाले सगरमाथा चुचुरोमा पाइला राखेका छन् । यस सिजनका लागि शुक्रबारमात्रै प्रख्यात आरोही कामीरिता शेर्पासहितका १२ जनाले डोरीको सहायताले बाटो खुला गरेका थिए । यसपटक ४ सय ८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन् ।
https://ujyaalonepalnews.com/archives/14312


