यी हुन ओली सरकारले चितवनमा पारेका बजेटका क्षेत्र

नारायण अधिकारी, चितवन, १६ जेठ- सरकारले प्रस्तुत गरेको बजेटमा जिल्लाका विभिन्न क्षेत्रलाई समेटेको छ । सरकारले जिल्लाको माडीमा राममन्दिर निर्माणका लागि बजेट विनियोजन गरेको छ । यसै वर्ष रामनवमीका दिन प्रधानमन्त्री केपी शर्मा ओलीले राम, सीता र लक्ष्मणको मूर्ति बनाएर माडी पठाउनुभएको थियो । यस्तै सरकारले नारायणी नदीको त्रिवेणीबाट नारायणगढ, देवघाट हुँदै दासढुङ्गासम्मको खण्डलाई मदन–आश्रित जलमार्ग नामकरण गर्दै बजेट विनियोजन गरेको छ । नारायणी नदीमा पानीजहाज सञ्चालनका लागि टर्मिनललगायतका पूर्वाधार निर्माण गर्नका लागि आवश्यक रकम विनियोजन गरिएको छ ।

नारायणीको सडक पुललगायत देशका १० वटा सडक पुललाई स्तरोन्नति आकर्षक सिग्नेचर ब्रिजले प्रतिस्थापन गरिने योजना सरकारले बनाएको छ । ती पुलको डिजाइन एवं विस्तृत परियोजना प्रतिवेदन तयार गर्न ख्यातिप्राप्त अन्तर्राष्ट्रिय परामर्शदातालाई सहभागी गराइनेछ । भरतपुर विमानस्थलको विस्तार एवं स्तरोन्नति गरिने बजेटमा उल्लेख गरिएको छ । देशभरका आन्तरिक विमानस्थलको विस्तार एवं स्तरोन्नतिका लागि रु एक अर्ब ३१ करोड बजेट विनियोजन गरेको छ । चितवन र मकवानपुर जिल्लाका राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने खण्डको पुनः रेखाङ्कन गरी निर्माण गरिने बजेटमा प्रस्तुत गरिएको छ । देवघाटलगायत देशभरका धार्मिक क्षेत्रको संरक्षण र विकासका लागि बजेट व्यवस्था गरिएको छ ।

रत्ननगर नगरपालिकासहित देशभरका १७ स्थानमा सरकारले कृषि थोक बजार स्थापना गर्ने भएको छ । आगामी आवमा समृद्ध तराई–मधेश सिँचाइ विकास कार्यक्रमअन्तर्गत चितवन, नवलपरासीलगायत २५ जिल्लाको २० हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न पाँच हजार स्यालो ट्युबेल र २०० डिप ट्युबेल जडान गरिने बजेटमा उल्लेख छ ।निजी क्षेत्रसँगको सहकार्यमा चितवन, कञ्चनपुर, बर्दिया, नुवाकोट र दोलखामा प्रकृतिमा आधारित पर्यटन पूर्वाधार विकास कार्यक्रम सञ्चालन गरिने बजेटमा उल्लेख छ । चितवन, पर्सालगायत तराई–मधेशका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गर्न बजेटको व्यवस्था गरिएको छ । जलवायु परिवर्तनको प्रतिकूल प्रभाव न्यूनीकरण गर्न स्थानीय समुदायको क्षमता अभिवृद्धि कार्यक्रम पनि बजेटमा समावेश छ ।

अमलेखगञ्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइनलाई तीन वर्षभित्र सञ्चालनमा ल्याइने भएको छ । क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचार गर्न राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्थान स्थापना गरी भरतपुरको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संस्थान मातहत सञ्चालन गरिने व्यवस्था गरिएको छ । भरतपुर क्यान्सर अस्पतालसहित छवटा ठूला अस्पतालको पूर्वाधार निर्माण गर्न रु एक अर्ब २८ करोड विनियोजन गरिएको छ ।

भरतपुरलगायत ठूला शहरमा विद्युतीय भूमिगत तार निर्माणको काम यसै आर्थिक वर्षमा सम्पन्न गर्ने बजेटमा उल्लेख छ । पूर्वपश्चिम राजमार्गका सडकमा अधिकतम गतियुक्त, सुरूङमार्ग, उचाइयुक्त पुल, फ्लाइओभर वन्यजन्तु मार्ग बनाइने छ । सोअन्तर्गत चितवनबाट हेटौँडा हुँदै पथलैयासम्मको सडक पनि परेको छ । चेपाङ, माझी, मुसहरलगायत आर्थिक, सामाजिकरूपमा पिछडिएका, कोभिड सङ्क्रमितबाट मृत्यु भएका परिवारका छोराछोरीलाई पठनपाठनका लागि बजेट विनियोजन गरिएको छ । चेपाङ जातिको ठूलो जनसङ्ख्या यहाँ रहेको छ ।(रासस)

https://ujyaalonepalnews.com/archives/14474

Previous articleEXCLUSIVE: नेपालीलाई गधा झैँ जोताउने टायर कम्पनीलाई नेपालीले हाले ५० लाख रिंगिटको ठगि मुद्दा
Next articleमंगलबार देखि केहि देशमा उडान सुरु हुने भएपछी श्रम स्वीकृतिको काम पनि सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।