Home Uncategorized खाडी मुलुक जाने जहाज भाडा ३०० प्रतिशत महँगो, रोजगारीमा जानुपर्ने कामदार काठमाडौंमा...

खाडी मुलुक जाने जहाज भाडा ३०० प्रतिशत महँगो, रोजगारीमा जानुपर्ने कामदार काठमाडौंमा अलपत्र

काठमाडौं : सरकारले अनुमति दिएका एयरलाईन्सहरुको टिकटको मुल्यमा तीनसय प्रतिशतसम्म वृद्धि गरिएको छ । नेपालबाट कतार जाने कामदारले सामान्य अवस्थामा टिकटका लागि २० हजार र बढीमा २५ हजार रुपैयाँ खर्च गर्ने गरेकोमा हाल एकतर्फी टिकटको मुल्य ७५ हजार रुपैयाँसम्म पुर्‍याइएको छ । त्यो पनि पाउन सहज छैन । वैदेशिक रोजगारीका लागि पुन: श्रम स्वीकृति लिएर कतार जाने योजनामा बुटवलबाट बाठमाडौं आएका थानेश्वर बरालले काठमाडौं आएर टिकटको मुल्य सोधखोज गर्दा मुल्य अत्यधिक रुपमा बढाइएकोले र बढाइएको मुल्यमा पनि टिकट पाउन नसकेको बताए ।

उनले भने, ‘सरकारले तीन मुलुकका लागि शुरु गरेको उडान वैदेशिक रोजगारीमा जाने तथा फर्किने कामदारहरुका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो भयो । हामीजस्ता विपन्न अवस्थाका कामदारले यति महंगो मुल्यमा टिकट खरिद गरेर जान नसक्ने अवस्थामा पुग्यौं । वर्षौदेखि गर्दै आएको राम्रो रोजगारी गुमाउने अवस्था आयो । नयाँ कामदार त जानै नसक्ने अवस्था देखियो ।’ नेपालमा कोरोना भाइरस संक्रमण केही कम भएपछि सरकारले गत जुन ७ तारखेबाट कतार , टर्की र चीन गरी तीन देशका लागि उडान शुरु गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि रोजगारीमा जोडिन जाने र करार अवधि सकिएर घर फर्किने वाध्यताका कामदारहरुले केही राहत महसुस गरेका थिए ।

तर महिनौंको तलव खर्च गरेपनि जहाज टिकट लिन नसक्ने भएपछि आफुहरुका लागि वैदेशिक रोजगार ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छो बाबुको अनुहार’ जस्तो भएको बरालको भनाइ छ । हाल कतार एअरवेज र नेपाल एअरलाइन्सले कतारको दोहामा हप्तामा एक एक वटा उडान भरिरहेका छन् । कतार जान काठमाडौं काएका कपिलवस्तुका राम कहाँर हालकै मुल्य नघट्ने हो भने जहाजभाडा तिरेर रोजगारीमा जान नसक्ने र वषौंदेखि गर्दै आएको रोजगारी गुमाउनु पर्ने वाध्यता रहेको बताउँछन् । उनले नेपालबाट कामदार नगए कतारी रोजगारदाताले घाना, केन्या र युगाण्डाबाट कामदार ल्याउनसक्ने बताए । कोरोना भाइरस संक्रमण कम र खोप उपलब्ध भएपछि खाडी मुलुकमा आर्थिक गतिविधि बढेको छ । त्यसका कारण विदेशी कामदारहरुको माग पनि बढाएको बताइन्छ ।

कहाँरले भने, ‘जहाज भाडा महंगो भएपछि म जस्ता वैदेशिक रोजगारबाट आफु र परिवारको पालनपोषण गर्ने जिम्मेवारी भएकाहरुलाई निराश र आक्रोशित बनाएको छ । तर कसैले हाम्रो पीडाको सनुवाई गर्ने प्रयास गरिदिएनन् ।’ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठ खाडीका विभिन्न मुलुकमा रोजगारीमा जान भिसा लिएका करिब पचास हजार हाराहारीमा युवाहरु उडानको प्रतिक्षामा रहेको र उडान अपर्याप्त र महंगो भाडाले गम्भीर समस्या सिर्जना गरेको बताउँछन् । हाल कतारमा मात्र उडान रहेको छ । साउदी अरब र युएई जानुपर्ने कामदार कतार हुँदै जानु पर्ने भएका कारण उनीहरुलाई थप आर्थिक भार रहेको व्यवसायीहरु बताउँछन् । भएका उडान कुटनीतिकदेखि व्यापारिक भ्रमणका लागि जाने उच्चस्तरीय यात्रुले ओगट्दा न्यून आय भएका र भिफ्र भिसा फ्रि टिकटमा जानु पर्ने कामदारले मौका पाउन नसक्ने अवस्था उत्पन्न भएको संघका महासचिव श्रेष्ठको भनाइ छ ।

नियमित उडान नहुँदा विदामा स्वदेश फर्किनु पर्ने कामदार मात्र होइन कार्यस्थलमा मृत्यु भएका कामदारको शव नेपाल आउन सकेको छैन । अन्तर्राष्ट्रिय उडान रोकिँदा करार अवधि सकिएका, कैद भुक्तान गरेका, आममाफी पाएका, गर्भवती र सुत्केरी अवस्थामा रहेका कामदारहरु स्वदेश फर्किने वाध्यतामा रहेका र घरेलु श्रमिक, गर्भवती, रोजगारी र आम्दानी गुमाएका, सूचनामा पहुँच नभएका श्रमिकहरू थप जोखिममा रहेका भएपनि सरकारले त्यसतर्फ ध्यान नदिएको कामदार र नेपाली नियोगहरुको गुनासो बढेको छ । मध्यान्ह डेली बाट

https://ujyaalonepalnews.com/archives/14784

Previous articleआज शुक्रबार १० अन्तराष्ट्रिय उडान हुँदै (यस्तो छ तालिका)
Next articleअब साउदी प्रवेश गर्नेलाई नयाँ नियम: CCMC जस्तै अनलाईन फारम भर्न पर्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।