खाडी मुलुकमा लामो पर्व बिदा सुरु हुँदै, मर्यादामा बस्न कामदारहरुलाई दूतावासको आग्रह

0
51

दोहा, कतार : नेपाली कामदारको प्रमुख गन्तब्य खाडी मुलुकहरुमा ईद–अल–अदाका अवसरमा लामो बिदा परेको छ । कतारले इद अल–अदा (बकर इद) को अवसर पारेर सरकारी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आठ दिन र निजी क्षेत्रमा काम गर्नेलाई चार दिन छुट्टि दिने निर्णय गरेको छ । जुलाई १८ अर्थात आगामी आइतबारदेखि २५ जुलाइसम्म सरकारी कार्यालयमा बिदा दिने घोषणा गरिएको छ ।

उता नेपाली कामदार जाने अर्को प्रमुख गन्तब्य यूएई सरकारले इद अल–अदाको अवसरमा चार दिनको बिदा दिएको छ । १९ जुलाई सोमबारदेखि २२ जुलाई बिहीबारसम्म बिदा दिने घोषणा गरिएको छ भने त्यस लगत्तैका दुई दिन नियमित साप्ताहिक बिदा परेकाले यूएईमा १९ देखि २४ जुलाईसम्म बिदा हुने छ । यूएईमा २५ जुलाईपछि कार्यालयहरु नियमितरुपमा सञ्चालन हुने बताइएको छ ।

कतारस्थित नेपाली दूतावासले स्थानीयस्तरमा महत्वका साथ मनाइने ईद–अल–अदाका अवसरमा मर्यादित व्यवहार गर्न नेपाली समुदायलाई आग्रह गरेको छ । कतिपय नेपालीले मदिराजस्ता निषेधित पेय पदार्थ सार्वजनिक स्थलमा सेवन तथा बेचविखन गर्नसक्नेतर्फ सचेत गराउँदै नेपाली दूतावासले कतारको धर्म, संस्कृति, परम्परा र मान्यताविपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय कतारमा केही नेपालीहरू अवैधरुपमा मदिरा उत्पादन गरी लुकीछिपी नेपाली समुदायमा बिक्री गर्ने गरिएको विषय चर्चामा आएको बेला दूतावासले त्यसमा चासो राख्दै संयमित हुन नेपाली कामदारहरुलाई आग्रह गरेको हो । बिदा मनाउने क्रममा नेपालीहरु निषेधित खाद्य तथा पेय पदार्थ सेवन गरेर भैझगडा गर्दा हिंसाका घटना समेत हुने गरेका छन् । कतारमा संस्थागत अर्थात म्यानपावर कम्पनीबाट जाने भन्दै आजाद भिसामा गई उतै रोजगारी खोज्नेहरु र अवैधरुपमा बसिरहेका नेपालीहरुले जिवीका चलाउने नाममा अवैध मदिराको उत्पादन तथा बिक्री गर्दा स्थानीय प्रशासनको नजरमा नेपाली समाज नै बद्नाम हुने खतरा बढेको कतिपयको भनाइ छ ।

त्यस्तै कुवेतमा गैरकानुनीरुपमा मदिरा व्यापार गरेको आरोपमा पटक–पटक नेपाली कामदारहरु पक्राउ परेका छन् । केही समयअघि कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले नियन्त्रणमा लिएर ठूलो परिमाणमा मदिरा बरामद भएको घटनालाई स्थानीय सञ्चारमाध्यमहरुले गम्भीरताका साथ लिएका थिए । कुवेतमा अवैध मदिरा उत्पादन तथा बिक्रीका कारण नेपाली समुदाय बद्नाम हुँदै गएको बताइएको छ । यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो । तिलु शर्मा पौडेल/मध्यान्ह

https://www.ujyaalonepalnews.com/archives/15091

Previous articleकतार बाट आयो यस्तो खबर: ६ महिनाभित्र कतार फर्कने नेपालीलाई ‘इन्ट्री परमिट’ नचाहिने
Next articleदुवै मात्रा खोप लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने साउदी अरेबियाको सरकारको निर्णय