रत्ननगर । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा लामो समयको प्रतीक्षापछि अक्सिजन प्लान्ट आइपुगेको छ । कोरोना सङ्क्रमितको उपचारलाई प्राथमिकतामा राखेर बागमती प्रदेश सरकारले अत्याधुनिक प्रविधिसहितको अक्सिजन प्लान्ट प्रदान गरेको हो । बाहिरी वातावरणबाट तानेर अक्सिजन संकलन गर्न सक्ने क्षमतासहितको सो अक्सिजन प्लान्ट प्रदेश सरकारका प्रतिनिधिहरुले सोमबार अस्पताल व्यवस्थापन समिति र प्रशासनलाई प्रदान गरेका हुन् । कोरोनाको पहिलो लहरमा रत्ननगर नगरपालिका र अस्पताल प्रशासनले अक्सिजन प्लान्ट र पिसिआर मेसिनका लागि प्रदेश सरकारलाई लिखित आग्रह गरेका थिए ।
सो अस्पतालमा एक हप्ताभित्र पिसिआर मेसिन आइपुग्ने छ । अस्पतालमा आइपुगेको अक्सिजन प्लान्टले दैनिक ५० सिलिन्डर उत्पादन गर्ने क्षमता रहेको प्रदेश सरकारअन्तर्गत स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । प्लान्टमा भएको अक्सिजनलाई पाइपमार्फत बिरामी भएको बेडसम्म लैजान सकिने उनले बताए । त्यसका लागि अस्पतालले पाइपलाइन व्यवस्थापनको काम गर्नुपर्ने उनको भनाइ छ । प्रमुख अधिकारीले प्लान्टमा संकलन भएको अक्सिजनलाई सिलिन्डरमा भर्न प्रदेश सरकारले बजेट प्रदान गर्ने बताए । उनले प्रदेश सरकारको बजेटबाट रत्ननगर अस्पताललाई अक्सिजन प्लान्ट र पिसिआर मेसिन उपलब्ध गराएको बताए ।

टेन्डरमार्फत पिसिआर मेसिन पनि खरिद भइसकेको भन्दै प्रमुख अधिकारीले एक हस्ताभित्र रत्ननगर आइपुग्ने जानकारी दिए । मेसिन जडान गरिसकेपछि स्वास्थ्यकर्मीलाई तालिम दिएलगत्तै कोरोना परीक्षणको काम सुरू हुने उनले बताए । नेकपा एमालेकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीता पौडेल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रदेश सहइन्चार्ज काशीनाथ अधिकारी, रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडीको रोहवरमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख वसन्त अधिकारीले अस्पताल विकास समितिका अध्यक्ष गोपालराज कर्माचार्य, मेसु डा. विश्वबन्धु बगालेलाई अक्सिजन प्लान्ट जिम्मा लगाएका हुन् ।
सोही समारोहमा अस्पतालका पूर्वअध्यक्षहरु देवेन्द्रकुमार श्रेष्ठ, जनी अहमद शेख, युवासंघका केन्द्रीय सचिव प्रताप डल्लाकोटीलगायतको सहभागिता रहेको थियो । सो अवसरमा अस्पतालका अध्यक्ष कर्माचार्यले करिब एक महिनाको अवधिमा अक्सिजन प्लान्ट र पिसिआर मेसिन सञ्चालनमा ल्याउने गरी तयारी सुरू गरिएको बताए । अस्पतालका मेसु बगालेले हालको अवस्थामा रत्ननगर अस्पताललाई पुग्ने क्षमताको अक्सिजन प्लान्ट आइपुगेको बताए । ‘अक्सिजन प्लान्ट सुरू भएपछि सजिलै सङ्क्रमितको उपचार गर्न सकिन्छ’, उनले भने, ‘यसले अस्पतालप्रतिको विश्वसनीयतासमेत बढाउने छ ।’
पूर्वी चितवनको एकमात्र सरकारी रत्ननगर अस्पतालमा अहिले दैनिक ७०० बिरामीको उपचार हुँदै आएको छ । सो अस्पताललाई गत वर्षमात्रै प्रदेश सरकारले ५० शøयाको स्वीकृति दिएको थियो ।


