राष्ट्रिय भूतपूर्व सैनिक संगठन पिठुवाको साधारणसभा तथा अधिवेसन सम्पन्न
निराजन घिमिरे, साउन २०, चितवन- राष्ट्रिय भूतपूर्व सैनिक संगठन क्षेत्र नं. २ एकाई नं. ५ पिठुवा रत्ननगर-१६ को १५औं साधारणसभा तथा पाँचौ अधिवेसन सम्पन्न सम्पन्न भएको छ। एकाईका अध्यक्ष विश्व अर्यालको सभापतित्वमा यही साउन १९ गते संस्थाको नवनिर्मित भवनमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथिको रुपमा एकाई ५ का संस्थापक अध्यक्ष तथा रत्ननगर-१६ का वडाध्यक्ष हेमराज थापा उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै राष्ट्रिय भूतपूर्व सैनिक संगठन चितवनका जिल्ला सल्लाहाकार समेत रहेका प्रमुख अतिथि थापाले, “भूपू सैनिकहरुको हकहित तथा सामाजिक काममा अग्रसर हुन १५ वर्ष अगाडी संस्थाको स्थापना गरेको” स्मरण गर्दै यो संस्थाको गरिमा बढाउन अझ सबैले आफ्नो-आफ्नो स्थान बाट प्रयत्न गर्नुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा जितेन्द्र थापा, सुवर्ण जंग धमला, शम्भु थापा लगायतले मन्तव्य राख्नुभएको थियो ।

संस्थाले रनपा-१६ को बनदेवी टोलमा हालै मात्र स्थापना गरेको आफ्नै भवनमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाको भवन निर्माणको लागी विष्णु बाबु घिमिरे र हरिराम सापकोटाले सात धुर जग्गा प्रदान गर्नुभएको संस्थाका संस्थापक अध्यक्ष हेमराज थापाले जानकारी दिनुभयो । उक्त सात धुर जग्गामा संस्थापक अध्यक्ष तथा वडाध्यक्ष हेमराज थापाकै पहलमा प्रदेश सांसद कृष्ण खनाल बाट सांसद विकास कोषको पैसा खर्च हुनेगरी १० लाख रुपैया सहयोग प्राप्त गरि भवन निर्माण गरिएको हो । त्यस्तै भवनको लागी नपुग ५ लाख रुपैयाँ संस्थाकै सदस्यहरु बाट संकलन गरिएको थापाले जानकारी दिनुभयो ।

संस्थाको सम्पन्न अधिवेसनले ठाकुर पन्तलाई अध्यक्षमा निर्वाचित गरेको छ । त्यस्तै संस्थाको उपाध्यक्षमा देव राना र सचिवमा वेनी बहादुर भुजेललाई चयन गरिएको छ ।


