वैदेशिक रोजगारीमा फेरी समस्या आउने संकेत; उडान बन्द हुने डरमा व्यवसायी

काठमाडौं : कोरोना भाइसर (कोभिड–१९) को कारणले करिब दुई वर्ष थला परेका वैदेशिक रोजगार व्यवसायी कोरोनाविरूद्धका खोप आएपछि केही उत्साहित भएपनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि पुनः तनावमा देखिन थालेका छन् । ओमिक्रोनको भेरियन्टबाट आफ्ना नागरिकलाई बचाउन उच्च सुरक्षा सतर्कता अवलम्बन गरे पनि नेपाली कामदार जाने प्रमुख देशहरूका बुधबारसम्म यात्रामा कुनै अवरोध देखिएको छैन । तर, उक्त भेरियन्टका कारणले परिस्थिति क्षण क्षणमा परिवर्तन भईरहेको छ । एक व्यवसायी भन्छन्, ‘श्रम स्वीकृति भएका कामदार सकेसम्म छिटो उडाउने प्रयास गरिरहेका छौँ ।’

साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड–१९को ओमिक्रोन भेरियन्ट भेटिएपछि संक्रमित नागरिक र उनीसँग नजिकको सम्पर्कमा रहेकाहरूलाई सम्बन्धित स्वास्थ्य प्रक्रियाहरू अबलम्बन गरी अलग्गै राखिएको बताएको छ । साउदी अरेबियाले दक्षिण अफ्रिका, नामिबिया, बोत्सवाना, जिम्बाब्वे, मोजाम्बिक, लेसोथो र इस्वाटिनी जाने र आउने उडानहरू स्थगित गरेको बताएको छ ।

साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिडविरुद्धको खोपलाई निरन्तरता दिँदै सावधानीका तथा रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदण्डहरु कडाइसाथ पालना गर्न सबैलाई अनुरोध गरेको छ । नेपालमा ओमिक्रोन हालसम्म नदेखिए पनि सबैलाई सचेत रहन र स्वास्थ्य मापदण्ड पालन गर्न अनुरोध गर्दै अफ्रिकी देशहरूबाट आउने उडानका यात्रुहरूलाई १० दिन क्वारेन्टाइन बस्न भनिएको छ ।

सानो संख्यामा भएपनि नेपाली कामदार जाने जापानले नयाँ भेरियन्टका कारणले मंगलबारदेखि विदेशीहरूलाई आफ्नोे देश प्रवेशमा रोक लगाएको बताएको छ । अष्ट्रेलियाले न्यूजील्याण्ड र सिंगापुरबाहेक सबै देशका नागरिकहरूका लागि डिसेम्बर १५ सम्म सिमाना बन्द गरेको छ । साथै अष्ट्रेलियन नागरिक र अष्ट्रेलियन पिआर भएकाहरूका लागि ७२ घण्टाभित्रको पिसीआर रिपोर्ट र घर वा होटलमा आइसोलेसनमा बस्नका लागि नयाँ नियम बनाएको छ ।

पहिलो चरणमा केयर गिभर जाने तयारीमा रहेको इजरायलमा सबै विदेशी नागरिकहरूका लागि इजरायलमा प्रवेश निषेध गरेको छ । दक्षिण अफ्रिका र अन्य ६ अफ्रिकी देशहरूलाई रेड लिष्टमा राख्दै तीदेशबाट स्वदेश फर्कने इजरायलीहरूले १४ दिनको क्वारेन्टाइन बस्नुपर्ने छ । कोरोनाविरूद्धका खोप आएपछि नेपालबाट वैदेशिक रोजगारीमा जानेक्रममा तीव्रता आएको थियोे । गत कात्तिकमा ५४ हजार ९ सय १८ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए ।

https://ujyaalonepalnews.com/archives/16505

Previous articleओमिक्रोम भाईरसको त्रास: विभिन्न ९ देश बाट नेपाल आउन प्रतिबन्ध
Next articleसाउदी र युएईमा पनि देखियो कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।