नेपाली कांग्रेसमा फेरि देउवा सभापति

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित बनेका छन् । कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनबाट कांग्रेस नेतृत्व फेरि देउवाकै हातमा गएको हो । उनी यसअघि १३औं महाधिवेशनमा पहिलोपटक सभापति बनेका थिए । सोमबार भएको पहिलो चरणको निर्वाचनको परिणाममा पहिलो स्थान हात पारेका देउवा मंगलबार भएको दोस्रो चरणको निर्वाचनको परिणामअनुसार कांग्रेस सभापतिमा निर्वाचित बनेका हुन् ।

पहिलो चरणमा भने कांग्रेस विधानअनुसार कसैको पनि ५० प्रतिशत मत कटेको थिएन । दोस्रो चरणमा ४ हजार ५ सय ६४ मत खसेकोमा सभापतिमा निर्वाचित भएका देउवाले २७२४ मत प्राप्त गरेका छन् । पहिलो चरणमा भने ४ हजार ६ सय ७९ मत खसेको थियो । त्यसबखत देउवाले २ हजार २ सय ५८ मत पाएका थिए भने सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाले १ हजार ७ सय २ मत पाएका थिए । पहिलो चरणमा दोस्रो बनेपछि दोस्रो चरणको निर्वाचनमा भने कोइरालाले १८१७ मत प्राप्त गरेका छन् । जारी महाधिवेशनमा १३ पदाधिकारीसहित १ सय ३२ पदमा ४ सय ८९ जना उम्मेदवार छन् ।

देशका १ सय ६५ निर्वाचन क्षेत्र, भ्रातृ तथा शुभेच्छुक संघसंस्था तथा विदेशस्थित जनसम्पर्कसमितिबाट कुल ४ हजार ७ सय ४३ जना कांग्रेस १४औं महाधिवेशनका लागि मतदाता रहेका थिए । यसअघि पहिलो चरणको निर्वाचनमा एक सभापति पदमा शेरबहादुर देउवासहित, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ गरी पाँच जना प्रतिस्पर्धामा थिए । तर, दोस्रो चरणमा भने कोइरालाबाहेक सबैले देउवालाई साथ दिए ।

कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट मनोनीत हुनेछन् । यसैगरी, ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसंख्यकबाट एक, अपांगबाट एक सदस्य गरी कुल १ सय ३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ । तर, दुई जना भने सर्वसम्मत भइसकेका छन् । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने विधानमा व्यवस्था छ ।

६ दशकको राजनीतिक यात्रा

नेपाली कांग्रेसको राजनीतिक यात्रामा शेरबहादुर देउवा विगत ६ दशकदेखि सक्रिय व्यक्तित्व हुन् । उनी १४औं महाधिवेशनबाट कांग्रेसको दोस्रो कार्यकालका लागि नेतृत्वमा पुगेका छन् । पाँचपटक प्रधानमन्त्री बनिसकेका देउवा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको प्रेरणाबाट विद्यार्थी राजनीति हुँदै कांग्रेसको सक्रिय राजनीतिमा होमिएका पात्र हुन् । उनी पछिल्लोपटक २९ असार २०७८ मा प्रधानमन्त्री बनेका थिए । ३१ जेठ २००३ सालमा डडेल्धुराको आसिग्राम–५ रुवाखोलामा जन्मिएका उनको हाल काठमाडौं, बूढानीलकण्ठ नगरपालिकामा बसोबास छ । २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा विद्यार्थी राजनीति हुँदै होमिएका देउवाले प्राथमिक शिक्षा गृह जिल्ला डडेल्धुराबाट नै लिएका हुन् ।

यसैगरी, माध्यमिक शिक्षा डोटी र उच्च शिक्षा काठमाडौंमा हासिल गरेका उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवं संस्थापक सदस्य देउवा राजनीतिशास्त्रमा लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् । २०४८, २०५१, २०५६ र २०७४ सालका संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाटसमेत विजयी भएका थिए ।

२०४८ सालमा गृहमन्त्री बनेका देउवाले त्यसपछि पटकपटक गरी चारपटकसम्म मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । उनी पहिलोपटक २६ भदौ २०५२ देखि २६ फागुन २०५३ सम्म प्रधानमन्त्री बनेका थिए । त्यसपछि उनी ७ साउन २०५८ देखि १८ असोज २०५९ सम्म दोस्रोपटक प्रधानमन्त्री भए । सोही वर्ष १८ असोजमा उनलाई तत्कालीन राजा ज्ञानेन्द्रले पदबाट बर्खास्त गरेका थिए । प्रधानमन्त्री देउवा २१ जेठ २०६१ मा तेस्रोपटक प्रधानमन्त्री बने पनि राजा ज्ञानेन्द्रले उनलाई असक्षम भन्दै १९ माघ २०६१ मा पुनः बर्खास्त गरे । त्यसपछि देउवा व्यवस्थापिका संसद्को बैठकबाट २३ जेठ २०७४ मा चौथोपटक प्रधानमन्त्री बनेका थिए ।

उनले प्रधानमन्त्री हुँदा पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेस (कदमजम)को अवधारणा ल्याएका हुन् । त्यस्तै उनकै पालामा विशेष वर्ग एवं समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोग गठन भएका थिए ।

उनी पार्टीभित्रको कलह बढ्दै गएपछि २०५९ मा कांग्रेस विभाजन भई गठित नेपाली कांग्रेस (प्रजातान्त्रिक)का सभापति बने । त्यसपछि २०६४ सालमा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक) एकतापछि उनी काग्रेसको वरिष्ठ नेता भए । त्यसपछि २४ फागुन २०७२ मा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनमा उनी तत्कालीन कार्यवाहक सभापति रामचन्द्र पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित बनेका थिए ।

अहिले फेरि उनी दोस्रो कार्यकालका लागि सभापति निर्वाचित बनेका हुन् । उनी कांग्रेसको संसदीय दलको नेता पनि छन् । संविधान कार्यान्वयनका लागि उनकै नेतृत्वमा २०७४ सालमा सम्पन्न तीनै तहका निर्वाचनमध्ये प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले पराजय बेहोरेपछि उनले प्रधानमन्त्री पदबाट ३ फागुन २०७४ मा राजीनामा दिएका थिए ।

सन् २००८ देखि २०१२ सम्म सोसलिस्ट इन्टरनेसनलका उपाध्यक्ष रहेका उनी सन् २०१३ देखि सो संगठनको अन्तर्राष्ट्रिय उपाध्यक्षसमेत छन् । प्रजातान्त्रिक आन्दोलनका क्रममा उनले पटकपटक गरी १० वर्ष कारागार जीवन बिताएका छन् । देउवाले भारत, चीन, भुटान, माल्दिभ्स, श्रीलंका, थाइल्यान्ड, जापान, कतार, दक्षिण कोरिया, डेनमार्क, बेलायत, जर्मनी, नर्वे, फ्रान्स, स्विट्जरल्यान्ड, ग्रिस, बेल्जियम, संयुक्त राज्य अमेरिका, कोलम्बिया, अस्ट्रेलियालगायत मुलुकको भ्रमण गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरण: बादलका छोरा प्रतीक थापा पक्राउ

Previous articleविदेशमा संगै काम गर्ने ईन्डियनले खिचेको अश्लिल तस्वीरले नेपाली युवाती तनाबमा
Next articleएमसीसी खारेज नगरे कडा आन्दोलन गर्ने विप्लवसहितका ६ कम्युनिस्ट पार्टीको चेतावनी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।