ल्याण्डफिल्ड साइटको प्रभावः नास्टले प्रतिवेदन बुझायो

0
75

नेपाल बिज्ञान तथा प्रबिधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले ल्याण्डफिल्ड साइटको वातारणीय प्रभाव मुल्या‌ंकनका बारेमा गरेको अध्ययन प्रतिवेदन आज महानगरका प्रमुख बिद्यासुन्दर शाक्यलाई बुझाएको छ । अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. भोजराज पन्तले महानगरको सभा कक्षमा उक्त प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनले ल्याण्डफिल्ड साइट आसपासका १० ठाउँलाई अति प्रभावित, १० ठाउँलाई प्रभावित र ४ वटा स्थान कम प्रभावित भएको देखाएको छ ।

अध्ययन समितिका सदस्य सचिव एवं नास्टका बरिष्ट वैज्ञानिक अधिकृत डा. पन्तका अनुसार, साइटको गन्ध, सतह तथा भूमिगत पानी, लिचेड निष्कासन र व्यवस्थापन, माटोमा फोहोरमैला व्यवस्थापन गर्दा परेको प्रभावसँग पशुपंक्षी तथा मानव बसोबासमा परेको प्रभाव जस्ता बिषयलाई अध्ययनका क्रममा हेरिएको थियो। स्थलगत रुपमा गरिएको नमूना संकलनलाई प्रयोगशालामा गरिएको परीक्षण तथा स्थानीय अवस्था र स्थानीयबासीको धारणाका आधारमा अति प्रभावित, प्रभावित र कम प्रभावित गरी क्षेत्र निर्धारण गरिएको हो, डा. पन्तको भनाइ छ । अध्ययन गएको असोज कार्तिक महिनामा गरिएको थियो।

प्रतिवेदनमा पृष्ठभूमि, अध्ययनको बिधि, बिगतका अभ्यास र कागजपत्रको बिश्लेषण, निष्कर्ष र शिफारिस समेटिएका छन्। त्यस्तै अनुसूचीहरुमा स्थलगत अध्ययनका क्रममा स्थानीयसँग गरिएको छलफल भएका भनाइहरु समेटिएका छन्। अध्ययनमा सतह र भूमिगत पानीको अवस्था, लिचेड र यसले पानी तथा जमिनमा पु-याएको असर, ल्याण्डफिल्ड साइट आसपास क्षेत्रमा गन्धको प्रभाव, ल्याण्डफिल्ड साइटबाट निष्कासन भएको ग्यासको अवस्था, साइटबाट उत्पन्न हुने धुलनशील धुलोको कणको अवस्था र यिनीहरुले वातावरण तथा स्थानीय जनजीवनमा पारेको असर जस्ता बिषय समेटिएका थिए। यसका लागि लिचेड निष्कासन हुने १ ठाउँबाट लिचेडको, कोल्पु खोला १ ठाउँबाट भूमिगत र ४ ठाउँबाट सतही पानीको नमूना संकलन गरिएको थियो। त्यस्तै ल्याण्डफिल्ड साइटको ३ ठाउँबाट माटो, सिसडोलको २ वटा ठाउँबाट ग्याँस, ककनी गाउँपालिका वडा १ र २ का एक—एक वटा ठाउँबाट घुलनशील धुलोका कणका नमूना संकलन गरिएको थियो। त्यस्तै २४ ठाउँबाट गन्ध मापन गरिएको थियो।

मापनका आधारमा नुवाकोट जिल्लाको ककनी गाउँपालिकास्थित तल्लो सिउँडिनी (तलेटार, ल्याण्डफिल्ड साइटको माथिल्लो भाग), सोति बालुवा, मंगटा टोल १ र २, पाँचमुरी टोल गरी पाँचवटा स्थान अति प्रभावित क्षेत्रमा परेका छन्। त्यस्तै धादिङ जिल्लाको धुनिबेँसी नगरपालिकाअन्तर्गत सिंम्खडा गाउँ, तिलखोरिया, कोल्पु खोला १ र २ गरी ४ वटा ठाउँ र काठमाडौको तारकेश्वर नगरपालिकाअन्तर्गत खिलबुटा एक गरी जम्मा १० स्थानलाई अतिप्रभावित क्षेत्रमा राखिएको छ।

यसै गरी ककनीका ८ वटा र धुनिबेँसीका २ ठाउँ गरी १० ठाउँ प्रभावित क्षेत्र परेका छन्। जसमा ककनी गाउँपालिकाअन्तर्गतका भण्डारथुम्का, ढोका भञ्ज्याङ्, चाउथी ए र बि, कागती गाउँ, शिवालय माध्यमिक बिद्यालय, तल्लो सिउँडिनी १ र २ तथा धुनिबेँसी नगरपालिका अन्तर्गत पाठक गाउँ, डिगाउँ गरी २ वटा ठाउँ छन्।

ककनी गाउँपालिकाकाको कागती गाउँ हेल्थ पोष्ट र सिउँडिनी ट्यांकी डाँडा गरी २ ठाउँ कम प्रभावित क्षेत्रमा परेका छन्। त्यस्तै धादिङकाे  धुनिबेँसी नगरतर्फ स्वना गाउँ र कटुञ्जे गाउँ गरी २ वटा ठाउँ कम प्रभावित ठाउँमा परेका छन्।

अध्ययनका लागि नास्टका सचिव डा. महेशकुमार अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको थियो। नास्टकै बरिष्ट बैज्ञानिक अधिकृत डा. भोजराज पन्त सदस्य सचिव रहेको समितिको सदस्यमा नाष्टका बैज्ञानिक डा. दीपाश्री रावल र जयश्री सिजापति थिए भने वातावरणबिज्ञ इन्जिनियर सूर्यमान शाक्य र महानगरका इञ्जिनियर सरकारदीप श्रेष्ठ सदस्य थिए।

 

युएईले नेपालीलाई लगाएको प्रतिबन्ध जुलाई २१ सम्म लम्बायो; उडान खुलेपनि जान नपाईने

Previous articleह्याकरको खुलासापछि एनआरएन अमेरिकाका प्रवक्तासहित २ निलम्बित
Next articleबैंकिङ कसुरमा कारागार चलान