काठमाडौँ । बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा दाबी भुक्तानी मनोगत रुपमा नगरी तोकिएकै समयमा गर्न बिमा कम्पनीहरूलाई निर्देशन दिनुभएको छ ।
बिमा समितिको आयोजनामा ललितपुरमा भएको जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको अन्तरक्रियामा अध्यक्ष सिलवालले बिमा दाबी भुक्तानी जानेर, बुझेर पनि समयमै नदिएमा दाबी भुक्तानी अवधिपछि दिन गन्ती गरेर बिमा रकमको व्याज समेत दिनुपर्ने व्यवस्था गरिने बताउनुभयो ।
अध्यक्ष सिलवालले देशमा बिमा क्षेत्रको समग्र विकास एवम् विस्तारका साथै बीमितको हित रक्षा गर्नु बिमा समितिको मुख्य कार्य भएको उल्लेख गर्नुहुँदै राम्रो काम गर्ने कम्पनीलाई प्रशंसा र गलत काम गर्नेलाई भने कारबाही गरिने स्पष्ट गर्नुभयो ।
अध्यक्ष सिलवालले आगामी १० वर्षपछि बिमाको रकम बैङ्कको भन्दा पनि बढी हुने हुँदा अब हरेक विषयमा बिमा केन्द्रित हुनुपर्ने र बिमा रकमको लगानी सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा बिमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बिमा कम्पनीहरूका लागि एकीकृत सफ्टवेयर निर्माण गर्ने कार्यको समितिले नेतृत्व गर्ने बताउनुहुँदै बिमा कम्पनीका कर्मचारी, बिमा अभिकर्ता लगायतलाई सक्षम बनाउनका लागि तालिम दिन इन्सुरेन्स इन्स्टिच्युट नेपाललाई अनुमति दिइएको जानकारी दिनुभयो ।
https://ujyaalonepalnews.com/archives/17982


