रिपोर्टर्स क्लबद्वारा विभिन्न विधाका पुरस्कार वितरण

काठमाडौं- रिपोर्टर्स क्लब नेपालले आफ्नो २४औँ वार्षिकोत्सवका अवसरमा विभिन्न विधाका पुरस्कार वितरण गरेको छ ।

राजधानीमा बिहीबार बिहान आयोजत समारोहमा प्रधानमन्त्री शेरबहादुर यस वर्षको ‘कृष्णप्रसाद भट्टराई स्मृति पत्रकारिता पुरस्कार’ वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्नुभयो । ‘तेजेन्द्र–सन्तली खड्का स्मृति आर्थिक पत्रकारिता पुरस्कार’ कारोबार दैनिकका सम्पादक कुबेर चालिसेलाई प्रदान गरिएको छ । पुरस्कारको राशि जनही एक लाख रुपैयाँ रहेको छ । यी दुवै पुरस्कार क्लबले पहिलो पटक प्रदान गरेको हो ।

यसैगरी क्लबले हरेक वर्ष प्रदान गर्दै आएको पचास हजार रुपैयाँ राशिको ‘तारिणीप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर दैनिकका पत्रकार कुलचन्द्र न्यौपानेलाई प्रदान गरेको छ । क्लबले यसैगरी क्लबका संस्थापक सभापति ऋषि धमलाको मातापिताको स्मृतिमा स्थापित चालिस हजार रुपैयाँ राशिको कुलप्रसाद–चेतकुमारी धमला स्मृति पत्रकारिता पुरस्कार अनलाइनखबर न्युजपोर्टलका पत्रकार विनोद घिमिरेलाई प्रदान गरिएको छ ।

त्यसैगरी जनही रु २५ हजार राशिको वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका पत्रकार सुरेश यादव, शहीद जगतप्रकाशजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार राससका पत्रकार कृष्णराज गौतम, कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार विमापोष्ट अनलाइन पोर्टलका सम्पादक नवराज न्यौपाने, उमासिंह स्मृति पत्रकारिता पुरस्कार ग्यालेक्सी फोरकेकी पत्रकार सिर्जना घिमिरे र बाबुछिरी स्मृति फोटो पत्रकारिता पुरस्कार राससका रोशन सापकोटालाई प्रदान गरिएको छ ।

त्यसैगरी प्राइम टाइम्स टिभीका पत्रकारद्वय बालकृष्ण गौतम र डेबिड पाण्डेलाई क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७८ बाट पुरस्कृत गरिएको छ । पुरस्कारको राशि जनही रु २० हजार रहेको छ ।

https://ujyaalonepalnews.com/archives/18265

Previous articleकाठमाडौँको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला
Next article२५ संक्रमित थपिए
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।