यसपटक मिलेन मौसमविद्को अनुमान

पछिल्लो समय मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले गरेका मौसमी अनुमान निकै मिल्ने गरेका छन्। उनीहरूले मौसम खुल्छ वा वर्षा, हिमपात हुन्छ भनेर गरेका अनुमान प्रायः फेल खाएका छैनन्।

तर यो एउटा अनुमान नै भएकाले कहिलेकाहीं नमिल्न पनि सक्छ। यसपटक यस्तै भएको छ।  अर्थात् हिजो (बुधबार) देशभर जति वर्षा र हिमपात हुन्छ भनेर अनुमान गरिएको थियो, त्यस्तो भएन।

यसबारे नेपालखबरले आज (बिहीबार) बिहान जिज्ञासा राख्दा महाशाखाकी मौसमविद् विभूति पोखरेलले भनिन्, ‘हो,  हिजो (बुधबार) गरिएको हाम्रो अनुमान मिलेन, मध्य र पूर्वी क्षेत्रमा वर्षा/हिमपात भएन।’

महाशाखाका मौसमविद्ले हिजो (बुधबार) पश्चिमी न्यून चापीय प्रणालीका कारण देशभरजसो नै हल्कादेखि मध्यमसम्म वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्मै हिमपात हुने अनुमान गरेका थिए। तर पश्चिमी क्षेत्रमा बाहेक देशका अन्य ठाउँमा त्यस्तो भएन।

किन मिलेन त अनुमान ? नेपालखबरले राखेको जिज्ञासामा महाशाखाकी मौसविद् पोखरेलले भनिन्, ‘अनुमान हो, कहिलेकाहीं त्यस्तै हुन्छ।’

यस्तै बुधबार महाशाखाका मौसमविद्ले आज बिहीबार पनि वर्षा र हिमपात निकै हुने अनुमान गरेका थिए।

हेर्नुहाेस् हिजाेकाे अनुमान : बुधबार र बिहीबार व्यापक वर्षा/हिमपातको सम्भावना

तर आज बिहान प्रकाशित महाशाखाको बुलेटिन फरक भएर आएको छ। अर्थात् आज उति वर्षा तथा हिमपातको सम्भावना नरहेको बताइएको छ।

मौसमविद् पोखरेलका अनुसार आज देशका पहाडी क्षेत्रका केही स्थानमा हल्का मात्र वर्षा हुने सम्भावना छ। आज दिउँसो १/२ बजेपछि काठमाडौंलगायत पहाडी भेगका केही स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको उनले बताइन्।

‘तर तराईका पनि एक÷दुई स्थानमा हल्का वर्षा हुन सक्छ,’ उनले भनिन्।

उनका अनुसार आज देशको मौसम घाम बादल, घाम बादल हुने अनुमान गरिएको छ।

‘आज घाम पनि लाग्ने सम्भावना छ,’ उनले भनिन्, ‘एकछिन वर्षा भइहाले पनि फेरि एकछिनमा घाम लाग्न सक्छ। त्यही हो आजको मौसम घाम पानी घाम पानी हुने देखिन्छ।’

 

जब विमानस्थलमा भेटिइन् पर्यटन परी (रोबोट)

Previous articleबिराटनगर महानगरपालिका र वालिङ नगरपालिका सेमिफाइनलमा
Next articleफेवाताल अतिक्रमण : सर्वोच्चले सरकारसँग प्रगति विवरण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।