‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ सुरु

Click Image

इलाम । इलाममा ‘केचना कञ्चनजङ्घा पर्यटन तथा चलचित्र महोत्सव २०७८’ शुक्रवारदेखि सुरु भएको छ ।

झापाको केचनादेखि ताप्लेजुङको कञ्चनजङ्घा सम्मका पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको संविधान सभाका अध्यक्ष, इलामका सांसद सुवास चन्द्र नेम्वाङले उद्घाटन गर्नुभयो ।

इलामस्थित ठूलो टुँडिखेलमा आयोजित महोत्सव आगामी वैशाख २ सम्म सञ्चालन हुने छ । महोत्सवमा इलाम, झापा, पाँचथर र ताप्लेजुङमा उत्पादित सामाग्रीको प्रदर्शनी हुने छ ।

७० वटा स्टल राखिने जनाइएकोमा महोत्सवको पहिलो दिन २५ बढी स्टलहरू राखिएको छ ।

महोत्सवमा चारै जिल्लाका ४२ वटा पालिकाहरूबिच व्यापारिक समन्वयका लागि अन्तरक्रिया समेत आयोजना हुनेछ ।

मेची कोरिडोरभित्र पर्ने इलाम, पाँचथर, झापा र ताप्लेजुङ चारै जिल्लालाई केन्द्रित गर्दै महोत्सव आयोजना गरिएको आयोजक समितिका कार्यकारी निर्देशक केशवकुमार द्यौरालीको भनाई छ ।

महोत्सवमा खाद्य परिकार, कृषि उत्पादन, कृषि पर्यटन, साहित्य, सांस्कृतिक कार्यक्रम र रमाइलो मेला रहेका छन् ।

चलचित्रसम्बन्धी विभिन्न तालिम तथा कार्यशाला आयोजना कार्यक्रम तय भएको छ । महोत्सव अवधिमा चलचित्रसम्बन्धी तालिम दिइने जनाइएको छ । महोत्सवमा राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारको सहभागिता रहने आयोजकले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/18563

Previous articleसेनाको कुटपिटबाट मारिएका राप्तीका राजकुमार चेपांगको परिवारलाई उपमेयर इमानसिंहले बनाईदिए घर
Next article‘महत्त्वपूर्ण आर्थिक मुद्दामा सबै एकै ठाउँमा उभिनुपर्छ’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।