औद्योगिक समस्या समाधानका लागि महासङ्घको उद्योगमन्त्रीलाई आग्रह

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासङ्घले तरलता अभाव, चर्को ब्याजदर, विद्युत् कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यावसायिक लागत अत्यधिक बढेकाले निकास दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासङ्घको प्रतिनिधिमण्डलले नवनियुक्त मन्त्री दिलेन्द्रप्रसाद बडूलाई आज मन्त्रालयमा भेट गरी ती समस्या समाधानका लागि अनुरोध गरेको हो ।

सो अवसरमा महासङ्घका तर्फबाट लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुसी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरिएको महासङ्घले जनाएको छ ।

अध्यक्ष गोल्छाले यस क्षेत्रको समग्र समाधानमा चालिने सरकारको प्रयासमा महासङ्घले पूर्ण सहयोग गर्ने विश्वास दिलाउनुभयो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अञ्जन श्रेष्ठ, रामचन्द्र सङ्घाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता रहेको सो अवसरमा मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताउनुुभयो । विद्यमान समस्याका विषयमा महासङ्घले राखेका चासोप्रति आफू पनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद् छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने विश्वास मन्त्री बडूले दिलाउनुभयो ।

https://ujyaalonepalnews.com/archives/18577

Previous articleराष्ट्रपतिबाट दाहाललाई राष्ट्रियसभामा मनोनित
Next articleस्थानीय तहको निर्वाचनमा जुट्न अध्यक्ष ओलीको निर्देशन
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।