सुर्खेतमा भूमिहीनलाई लालपुर्जा वितरण सुरु

सुर्खेत । सरकारले सुर्खेतका भूमिहीन दलित परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र (लालपुर्जा) वितरण कार्य सुरु गरेको छ । 

भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले गठन गरेको राष्ट्रिय भूमि आयोगले शुक्रवार पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकाबाट लालपुर्जा वितरण कार्य सुरु गरेको हो । 

राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले गुर्भाकोट र भेरीगंगा नगरपालिकाका ४५ महिला, ८७ पुरुष र ४ सरकारी स्वामित्वको गरी कुल १ सय ३६ थान पुर्जा वितरण गर्नुभएको छ । 

राष्ट्रिय भूमि आयोग सुर्खेतका अध्यक्ष श्रीधर पौडेलले गुर्भाकोट र भेरीगंगा नगरपालिकाको कुल ७ लाख २२ हजार ६३ वर्गमिटर जग्गाको १ सय ६५ कित्ता वितरण गरिएको बताउनुभयो । 

उहाँले ती कित्ता वितरणबाट सरकारलाई ४ लाख ६० हजार ३ सय ९२ रुपैयाँ राजश्व प्राप्त भएको जानकारी दिनुभयो । 

उहाँका अनुसार पहिलो चरणमा साबिक कोटमाग खर्क अन्तर्गत भेरीगंगा र गुर्भाकोट नगरपालिकाका भूमिहीनलाई जग्गा वितरण गरिएको हो । सरकारले गत वैशाखमा राष्ट्रिय भूमि आयोग गठन गरेसँगै जिल्लाका सबै पालिकाका भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई क्रमशः पुर्जा वितरण गरिने उहाँको भनाई छ ।

वर्षौँपछि लालपुर्जा पाउँदा भूमिहीन दलित परिवार खुसी देखिएका छन् । पुर्जा पाएसँगै उनीहरूले लामो समयदेखि पुर्जा प्राप्तिको लडाई सकिएको भन्दै एक आपसमा खुसी साटासाट गरेका थिए । 

https://ujyaalonepalnews.com/archives/18607

Previous articleकाठमाडौंमा टिपर दुर्घटनामा एक जनाको मृत्यु
Next articleभोली सार्वजनिक बिदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।