
कास्की । १७ औँ संस्करणको फेवा नववर्ष महोत्सव बुधवारदेखि आयोजना हुँदैछ ।
‘पर्यटन, संस्कृति र खाना’ भन्ने नारासहित होटल सङ्घ पोखराको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको मङ्गलवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
नेपाली नयाँ वर्षको अवसरमा होटल सङ्घ पोखराले यसअघि आयोजना गर्दै आएको फेवा नव वर्ष महोत्सवलाई परिमार्जन गरी ‘सडक महोत्सव’को नामबाट गर्ने महोत्सव बुधवारदेखि शुरु हुन लागेको हो ।
होटल सङ्घ पोखराले रेष्टुरेण्ट एण्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराकै शैलीमा सडक महोत्सव आयोजना गर्दैछ । रेवान पोखराले हरेक अङ्ग्रेजी नयाँ वर्षमा ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गर्दै आएको छ । सोही थिममा होटल सङ्घ पोखराले पनि सडकमै खानाका परिकार पस्केर सडकमै नाच्दै, रमाइलो गर्ने गरी महोत्सव आयोजना गरेको छ ।
महोत्सवको पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले उद्घाटन गर्ने होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीले जानकारी दिनु भयो । महोत्सव उद्घाटन अघि लेकसाईडको खहरेचोक र ड्यामसाइड गरेर दुई ठाउँबाट एकै पटक झाँकीसहितको र्याली निस्किनेछ । दुवैतर्फको र्याली लेकसाइडको मध्य क्षेत्र अम्बोटमा पुगेर उद्घाटन समारोहमा परिणत हुने संघका अध्यक्ष सुबेदीले जानकारी दिनु भयो ।
बुधवार र बिहीबार हुने महोत्सवका मुख्य आकर्षणका रुपमा विभिन्न खानाका परिकार, विविध सांस्कृतिक झाँकी, ख्याति प्राप्त कलाकार तथा स्थानीय कलाकारहरूको प्रस्तुति, लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य, लाइभ कन्सर्टलगायत रहने जनाइएको छ । लेकसाइडका तीन किलोमिटर क्षेत्रमा रहेका होटलहरुले होटल बाहिर नै निकालेर स्टल राख्नेछन् भने त्यहाँ दर्शकले अवलोकन गर्नुका साथै आफूले चाहेअनुसारको स्वाद लिने छन् ।
महोत्सव हुने दुई दिन अम्बोट र सेन्टर प्वाइन्ट चोकमा दुई वटा ठुला स्टेज बनाएर दिउँसो लोकदोहोरी, हास्यव्यङ्ग्य, नृत्य तथा साँझमा लाइभ पप कन्सर्ट आयोजना गरिनेछन् । त्यस्तै, महोत्सव हुने तीन किलोमिटर क्षेत्रमा पर्ने ६ वटा चौतारीमा पञ्चेबाजा, रत्यौली, भजन, चुड्कालगायतका कार्यक्रम हुने जनाइएको छ ।
सडकमा महोत्सव हुने भएकाले लेकसाईडका बाटोमा दुई दिन सवारी आवतजावतमा रोक लगाइने आयोजकले जनाएको छ । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुबेदीका अनुसार पूर्वमा सहीदचोक र नारेश्वर क्षेत्रबाटै सवारी प्रवेशमा रोक लगाइनेछ । भित्री बाटोबाट स्थानीय र पर्यटकका गाडीलाई भने आवतजावत गर्न दिइने अध्यक्ष सुबेदीले बताउनु भयो ।
महोत्सवको अवसरमा होटल सङ्घले आफू मातहतका होटलहरुमा ३० प्रतिशत छुट दिने बताएको छ । संघका अध्यक्ष सुबेदीले सङ्घमा आबद्ध होटलहरुबाट छुट दिने व्यवस्था मिलाइएको बताए । उनका अनुसार महोत्सवको अवसरमा स्थानीय अन्नपूर्ण केबलकारले १० प्रतिशत छुट दिने घोषणा गरेको छ ।
https://ujyaalonepalnews.com/archives/18784


