काठमाडौँ । चालु आवको ८ महिनामा नेपालको वस्तु निर्यात ८२.९ प्रतिशतले बढे पनि कूल व्यापार घाटा भने ३४.५ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कद्वारा मङ्गलवार सार्वजनिक देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा आठ महिनामा कुल वस्तु निर्यात ८२.९ प्रतिशतले वृद्धि भई १४७ अर्ब ७५ करोड पुगेको उल्लेख छ ।
यस्तो निर्यात गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १०४.२ प्रतिशत र २९.१ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात ११.० प्रतिशतले घटेको छ ।
वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, पिना, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढेको छ भने अलैँची, चिया, जडीबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु आयात ३८.६ प्रतिशतले वृद्धि भई १३०८ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २.१ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २८.१ प्रतिशत, ३६.७ प्रतिशत र ७५.४ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ ।
आर्थिक वर्ष २०७८/७९ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ३४.५ प्रतिशतले वृद्धि भई ११६० अर्ब ९९ करोड पुगेको छ ।
https://ujyaalonepalnews.com/archives/18786


