किसानलाई प्रोत्साहन गर्नु जरुरी: अर्थमन्त्री शर्मा

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष ०७९–८० को बजेटमा कृषि क्षेत्रका लागि अनुदान नराख्न सुझाव दिनुभएको छ ।

आगामी बजेटको नीति कार्यक्रम र बजेटका लागि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयसँग शुक्रवार भएको छलफलमा अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई प्रोत्साहन चाहिएकाले अनुदान नराख्न सुझाव दिनुभएको हो ।

छलफलमा अर्थमन्त्री शर्माले उत्पादन वृद्धिका आधारमा किसान पुरस्कृत, उन्नत जातको बिउको उपलब्धता, सही समयमा रासायनिक तथा जैविक मलको उपलब्धता, प्रविधि र प्राविधिकको सहयोग लगायतका माध्यमबाट किसानलाई प्रोत्साहन गर्नु जरुरी रहेको बताउनुभयो ।

चालू आर्थिक वर्षको ९ महिनामा ३ खर्ब २५ अर्ब रुपैयाँको कृषि बस्तु आयात भएको भन्दै उहाँले कृषि उत्पादन बढाएर आयातलाई प्रतिस्थापन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

छलफलमा अर्थमन्त्री शर्माले सीमा नाकामा क्वारेनटाइन स्थापना गर्न बारम्बार निर्देशन दिए पनि ढिलाइ गरेको भन्दै गुनासो गर्नुभएको थियो ।

छलफलमा कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्रराय यादवले वर्षेनी कृषि क्षेत्रमा कम बजेट विनियोजन हुने गरेको भन्दै आगामी आर्थिक वर्षका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

न्यून बजेटले कृषिको उत्पादन वृद्धि र निर्यात गर्ने स्थिति नहुने भन्दै मन्त्री यादवले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई व्यवस्थित गरी त्यहाँको लगानीलाई सदुपयोग गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

छलफलमा अर्थ सचिव मधुकुमार मरासिनीले आगामी आर्थिक वर्षका लागि कुन कुन कार्यक्रम राख्ने भन्ने विषयमा प्रतिफलयोग्य कार्ययोजना ल्याउन निर्देशन दिनुभएको थियो ।

छलफलमा कृषि सचिव डा.गोविन्द शर्माले वर्षे धानको उत्पादकत्व प्रति हेक्टर ३ मेट्रिक टन भन्दा बढी र चैते धानको उत्पादकत्व प्रति हेक्टर ७ मेट्रिक टन भन्दा बढी रहेको जानकारी दिनुभएको थियो ।

चालु आर्थिक वर्षमा कूल बजेटको तुलनामा कृषि क्षेत्रमा २.५ प्रतिशत मात्रै बजेट विनियोजन भएको र पछिल्लो दश वर्षमा कृषि तथा पशुपंक्षी क्षेत्रको औसत वृद्धिदर ३ प्रतिशत रहेको कृषि मन्त्रालयले जनाएको छ ।

https://ujyaalonepalnews.com/archives/19189

Previous articleसुखी र समृद्ध नगरको परिकल्पना गर्दै एमाले रत्ननगरले सार्वजनिक गर्यो चुनावी प्रतिवद्धतापत्र
Next articleनिगमको साउदी अरेबियाको रियादमा सिधा उडान सुरु, एकतर्फी ३७ हजार भाडा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।