चिन जोड्ने सडकमा नेपाली सेनाले बनायो बेलिब्रिज

गोरखा । जिल्ला सदरमुकाम  हुँदै चीन जोड्ने सडकखण्ड अन्तर्गत धार्चे गाउँपालिका ५ को माछाखोलामा बेलिब्रिज निर्माण भई आज उद्घाटन भएको छ ।  नेपाली सेनाले करिब २ करोड रुपैयाँ खर्चमा १ सय २० फिट लामो बेलीब्रिज जडान गरेको हो । पुलको नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभएको छ ।

उद्घाटन कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ शर्मा, सडक विभागका महानिर्देशक शिवप्रसाद नेपाल लगायतको सहभागिता रहेको थियो । पुल उद्घाटनसँगै उक्त टोलीले सडक निर्माणको अवस्थाको हेलिकप्टरबाट निरीक्षण गरेको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाटबाट गोरखाको आरुघाट हुँदै तिब्बतको सीमा क्षेत्रसम्म सडक निर्माण भइरहेको छ । सो सडकखण्ड अन्तर्गत लापूको हावा डाँडाबाट  नेपाली सेनाले गोरखाको उत्तरी क्षेत्र हुँदै चीनको सीमासम्म सडकको ट्र्याक निर्माण गरिरहेको छ । सेनाले हालसम्म साढे ३२ किलोमिटर ट्र्याक निर्माण पूरा गरेको सडक निर्माण कार्यदलका मेजर इन्जिनियर विनोद भट्टले जानकारी दिनुभयो ।

चीनको सीमाको लार्के भन्ज्याङसम्मको सडकको लम्बाई करिब १ सय किलोमिटर हुने अनुमान गरिएको छ । सीमासम्म पुग्नका लागि अझै करिब ६५ किलोमिटर ट्र्याक निर्माण बाँकी छ ।

स्रोत साधन र जनशक्तिको अभाव नभए अबको २ वर्षमा लार्केभञ्ज्याङसम्मै ट्र्याक निर्माण गरिसक्ने सेनाको लक्ष्य रहेको छ । नेपाली सेनाले २०७४ सालदेखि सडक निर्माणको जिम्मा लिएको हो ।

https://ujyaalonepalnews.com/archives/20393

Previous articleप्रधान सेनापति शर्माद्वारा बेलीबृजको उद्घाटन 
Next articleविराटनगरमा कोइरालाको चार हजार बढीको अग्रता
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।