
काठमाडौँ।प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले विभिन्न पक्षसँग छलफल गरी तयार पारिएको १६ बुँदे सुझाव तथा सिफारिस आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्न अर्थ मन्त्रालयललाई निर्देशन दिएको छ ।
समितिको मंगलबार बसेको बैठकले विभिन्न सुझाव तथा सिफारिसहरू बजेटमा समावेश गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
समितिले अर्थतन्त्रमा बचत र लगानी मार्फत पुँजी निर्माण र आर्थिक वृद्धि, श्रम व्यवस्थापन, आन्तरिक रोजगारी सृजना र गरिबी न्यूनीकरण, औद्योगीकरण, उत्पादन र उत्पादकत्व अभिवृद्धि र आत्मनिर्भर अर्थतन्त्रको निर्माण, राष्ट्रिय गौरवका आयोजना तथा रूपान्तरणकारी आयोजनाको तीव्र कार्यान्वयनमा जोड दिएको छ ।
आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी वस्तु उत्पादन, प्रवद्र्धन, उपभोग र विकास गर्न दीर्घकालिन सोच सहितको रणनीति तय गरी लागु गर्ने, राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिले प्रयोग गर्ने पोशाक अनिवार्य रुपमा नेपाली उत्पादन हुनुपर्ने गरी पोशाक भत्ताको व्यवस्था गर्ने Make in Nepal अभियानलाई प्रोत्साहन गर्न विद्युत्, कर, सल्क लगायत सहुलियत र सुविधा उपलब्ध गराउने, आगामी ५ वर्ष भित्र सबै कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुने गरी कार्यक्रम तय गर्दै सोही अनुरूप बजेट विनियोजन गर्न समितिले सुझाव दिएको छ ।
यसैगरी समितिले कृषि क्षेत्रलाई व्यवसायीकरण, बजारीकरण तथा यान्त्रीकरण गर्न कुल बजेटको ५ प्रतिशत विनियोजन गर्ने, प्राविधिक शिक्षाको गुणस्तर सम्बन्धी एकीकृत मापदण्ड विकास गरी सातवटै प्रदेशमा प्राविधिक विश्वविद्यालय स्थापना गर्ने, प्रत्येक प्रदेशमा कम्तिमा ५।५ सय शय्याको अस्पताल निर्माण गर्न बजेट विनियोजन गर्ने, विद्युतको आन्तरिक माग प्रक्षेपण गरी उत्पादित सहज र सुलभ रुपमा आन्तरिक खपत गर्दै पेट्रोलियम पदार्थको खपतलाई निरुत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाव दिएको छ ।
यसअघि सातै प्रदेशमा सरोकार भएका पक्षसँग छलफल गरी सुझाव दिइएकोमा यस पटक स्थानीय तह निर्वाचनलगायतका कारणले विभिन्न पक्षसँग समितिमै छलफल गरेर अर्थ मन्त्रालयलाई सुझाव दिइएको समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिनुभयो ।
https://ujyaalonepalnews.com/archives/20623


