महालक्ष्मी नगरपालिकाका मेयरको पदबहालीः स्वास्थ्य चौकी जाने गर्भवतीलाई भत्ता, निःशुल्क एम्बुलेन्स

ललितपुर– महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठले बुधबार पदबहाली गर्नुभएको छ ।

नगरपालिका कार्यालय पुगेर मेयर श्रेष्ठ र उपमेयर लक्ष्मी महर्जनले पदबहाली गर्नुभएको हो । पदबहालीअघि मेयर श्रेष्ठले उपमेयर, वडा अध्यक्ष र वडा सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ खुवाउनुभएको थियो ।

मेयर श्रेष्ठले पदहालीमा दुई वटा निर्णय गर्नुभएको छ । पहिलो– प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रोटोकल अनुसार नियमित स्वास्थ्य जाँच गराउने गर्भवती महिलालाई सुत्केरी भएपश्चात प्रोत्साहन स्वरुप १ हजार ५ सय रुपैयाँ नगद दिने । साथै सुत्केरी हुँदा अस्पताल जाँदा लाग्ने एम्बुलेन्स खर्च नगरपालिकाले व्यवस्थापन गर्ने ।

दोस्रो निर्णय छ– ‘क’ वर्गको अपाङ्ता परिचय पत्र प्राप्त व्यक्तिहरुलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता बैंकमार्फत लाभग्राहीको घरसम्म पुर्‍याउने ।

मेयर श्रेष्ठले गर्भवती र सुत्केरी महिलाको परिवारलाई आर्थिक भारतबाट जोगाउन र अपाङ्ता भएका व्यक्तिहरुलाई सहजता होस् भनेर दुई वटा निर्णय गरिएको जानकारी दिनुभयो ।

मेयर, उपमेयरसहितका जनप्रतिनिधिहरुलाई प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीलगायत नगरपालिकाका कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
स्वागत समारोहमा प्रदेश सभा सदस्य माधव पौडेल, निवर्तमान मेयर रामेश्वर श्रेष्ठ, निवर्तमान उपमेयर निर्मला थापा, विभिन्न दलका प्रतिनिधिहरुले शुभकामना व्यक्त गर्नुभएको थियो ।

३० वैशाखमा भएको निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस विजयी भएको थियो । १० मध्ये ६ वडामा एमाले, तीनमा कांग्रेस र एउटामा माओवादी केन्द्र विजयी भएको छ ।

https://ujyaalonepalnews.com/archives/20644

Previous articleवन पदाधिकारीविरुद्ध भ्रष्टाचारको मुद्दा
Next articleनेपाल र भारत साझा संस्कृतिका देशः पूर्वमन्त्री ढकाल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।