रेडियो नेपाल र नेपाल टेलिभिजनको सेवालाई शतप्रतिशत भूभागमा पुर्‍याउने

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमा रेडियो नेपाल र नेपाल टेलिभिजनको सेवालाई शतप्रतिशत भूभागमा पुर्‍याउने, दोलखाको चलचित्र सिटीलाई सार्वजनिक निजी अवधारणामा अगाडि बढाउनेलगायत व्यवस्थाहरू उल्लेख छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका लागि रु आठ अर्ब ६९ करोड बजेट विनियोजन गरेको छ । 

सरकारले सूचना तथा सञ्चार क्षेत्रलाई मर्यादित, जिम्मेवार र सुरक्षित बनाउन राष्ट्रिय साइवर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । सरकारले आज प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)मा विद्युतीय सूचना प्रणालीको सुरक्षाका लागि सो केन्द्र स्थापना गर्ने उल्लेख गरेको छ । 

सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आज पेस गर्नुभएको आगामी आवको बजेटमा दूरसञ्चार सेवालाई गुणस्तर र सर्वसुलभ बनाउने तथा इन्टरनेट सेवाको शुल्क घटाउने उल्लेख छ ।

यसैगरी, सुरक्षण मुद्रण र मुद्रण विभागलाई एकापसमा गाभेर क्षमता अभिवृद्धि गरिने उहाँले बताउनुभयो । सरकारले पत्रकार दुर्घटना बिमा र लोक कल्याणकारी विज्ञापन कार्यक्रमलाई निरन्तरता दिनाका साथै उक्त सेवा अनलाइन सञ्चारमाध्यमलाई समेत प्रदान गर्ने बजेटमार्फत जनाइएको छ । 

आगामी आवको बजेटमा कृषि, पर्यटन, उद्योग, ऊर्जालगायतका क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।

https://ujyaalonepalnews.com/archives/20811

Previous articleनेपाल विद्युत् प्राधिकरणको शेयर निष्कासन गरिने
Next articleआगामी आवको बजेट : जोखिममा रहेका हिमतालको पानीको सतह घटाइने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।