‘बजेट कृषि र औद्योगिक उत्पादन वृद्धि तथा आर्थिक संवृद्धिमा केन्द्रित’

काठमाडौँ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षको बजेट कृषि र औद्योगिक उत्पादन वृद्धि तथा आर्थिक संवृद्धिमा केन्द्रित भएको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा मङ्गलवार बजेटका विशेषताहरू सम्बन्धमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य महत्त्वाकाङ्क्षी भएको भए पनि प्राप्त हुने बताउनुभयो ।

बजेटले कृषिको उत्पादन वृद्धि तथा घरदैलोमै साना किसानहरूलाई ऋण दिने व्यवस्था बजेटमा गरेको पनि उल्लेख गर्नुभयो ।

उहाँले किसानहरूलाई सहुलियतमा ऋण प्रवाह गर्न १० खर्बको लघुवित्त कोष निर्माण गर्ने योजना बजेटले अघि सारेको बताउनुभयो ।

अर्थमन्त्री शर्माले विकासका पूर्वाधारहरूको निर्माण, नेपालमा उत्पादित वस्तुहरू सिमेन्ट, क्लिङकर लगायतका वस्तुहरूको निर्यातलाई पनि बजेटले जोड दिएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले स्वदेशमा उत्पादित वस्तुहरूको प्रयोग, प्रवर्द्धन गर्ने र त्यस्ता उद्योगहरूलाई सहुलियत र सुविधा दिने कुरालाई पनि बजेटले जोड दिएको बताउनुभयो ।

बजेटले अर्थतन्त्रमा देखिएका समस्याहरूलाई कम गर्न बाहिरबाट आयात हुने वस्तुहरूमा भन्सार वृद्धि गरी आयात निरुत्साहित गर्न र स्थानीय उत्पादनहरूलाई प्रोत्साहन गर्न खोजेको समेत अर्थ मन्त्री शर्माले बताउनुभयो ।

अर्थमन्त्री शर्माले बजेट विनियोजन गर्दा सकेसम्म प्रदेश स्तरीय सन्तुलन मिलाउन खोजेको, वैदेशिक तथा आन्तरिक ऋणको आकारलाई पनि अघिल्लो वर्षको भन्दा घटाएको बताउनुभयो ।

सरकारी दरबन्दीहरूलाई १० प्रतिशत घटाउने, १५ प्रतिशत चालु खर्च घटाउने भन्दै कृषिमा समग्रमा ५ प्रतिशतले बजेट वृद्धि भएको अर्थमन्त्री शर्माले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले बजेटले कृषि र उद्योगमा जोड दिएको, बजेटलाई महिला मैत्री बनाउन खोजेको, उत्पादन र वितरणलाई जोड दिएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/20917

Previous articleचितवनमा फेरी बाघले मान्छे खायो
Next articleगैर आवासीय नेपाली सङ्घद्वारा बजेटको स्वागत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।