काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनुभएको छ ।
अर्थमन्त्री शर्माले देशको आर्थिक अवस्थालाई हेरेर बजेट ल्याइएको भन्नुहुँदै बजेट चुनाव केन्द्रित नभएको बताउनुभयो ।

उहाँले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गत वर्षको भन्दा यो वर्ष बजेट वृद्धि गरिएको भन्नुहुँदै विद्यार्थीहरू कक्षा १२ पास गर्दा क्षमतासहित सिपयुक्त बन्ने गरी बजेट ल्याइएको बताउनुभयो ।
अर्थमन्त्री शर्माले रोकिएका राष्ट्रिय गौरवका आयोजनहरू आगामी आर्थिक वर्षदेखि सुचारु हुने, प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाइने, ८ लाख गरिबलाई गरिबीको रेखाबाट बाहिर ल्याइने बताउनुभयो ।
नेपालीको औसत आयु ७९.७ वर्ष हुने भए पनि देशको भौगोलिक अवस्था अनुसार औसत आयु कम हुने भएकाले सामाजिक सुरक्षा भत्ता पाउने उमेर ६८ वर्षमा ल्याइएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री शर्माले स्वास्थ्य बिमा कार्यक्रम अहिलेकै ठाउँबाट कार्यान्वयनमा आउने भन्नुहुँदै आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्द्धन गर्ने दिशामा बजेट केन्द्रित रहेको बताउनुभयो ।
यसअघि, सांसदहरुले बजेटमाथि छलफल गर्दै शिक्षा तथा स्वास्थ्य क्षेत्रमा बजेटको कमी, पूर्वाधार क्षेत्रमा महत्त्वाकाङ्क्षी योजना, छोटो समयमा बजेट कार्यान्वयनमा चुनौती, चुनावी बजेट भन्दै प्रश्न गरेपछि आजको प्रतिनिधि सभाको बैठकमा जवाफ दिनुहुँदै मन्त्री शर्माले बजेटले कृषि, शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना लगायतका विषय प्राथमिकतामा राखेकाले कार्यान्वयनमा समस्या नआउने पनि बताउनुभयो ।
जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमान पेश गर्नुभएको थियो ।
https://ujyaalonepalnews.com/archives/21114


