वीरगञ्ज । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४६ औं साधारण सभालाई शनिबार सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिभुवन विमानस्थलको वैकल्पिक विमानस्थलको रुपमा मात्र नभई तराई मधेश र मुलुककै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल आवश्यक भएको बताउनुभयो ।


उहाँले निजगढ विमानस्थल र काठमाडौँ–तराई द्रुत मार्गलाई जोड्नु आवश्यक रहेको समेत बताउनुभयो ।
अर्थमन्त्री शर्माले वीरगन्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाउने भन्नुहुँदै चिनी मिल सञ्चालन र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगन्ज क्षेत्रकै उद्योगी व्यवसायीले सहयोग गर्नुपर्ने बताउनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य सङ्घको कार्यक्रममा पुग्नुअघि अर्थमन्त्री शर्मा, अर्थ सचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोलीले शनिबार बिहान वीरगन्ज चिनी उद्योगको निरीक्षण गरेको थियो ।
कार्यक्रममा अर्थ सचिव मधुकुमार मरासिनीले वीरगन्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताउनुभयो ।
https://ujyaalonepalnews.com/archives/21178


