अप्पर सोलु हाइड्रोको आइपीओमा १८ करोडको आवेदन

सोलुखुम्बु । सोलुखुम्बुमा निर्माण सम्पन्न अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले खुल्ला गरेको आइपीओका लागि करिब १८ करोड रुपियाँ मूल्य बराबरको आवेदन परेको छ ।

आयोजनाले प्रभावित क्षेत्र सोलुदूधकुण्ड नगरपालिकाका बासिन्दाका लागि निष्कासन गरेको आइपीओमा १८ लाख कित्ता अर्थात् १८ करोड रुपियाँ मूल्य बराबरको आवेदन परेको हो ।

प्रभावित क्षेत्रका लागि कम्पनीले गत वैशाख २२ गतेदेखि जेठ ५ गतेसम्म १०० रुपियाँ अङ्कित दरका १३ करोड ५० लाख बराबरको १३ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको प्रवर्द्धक कम्पनी एनएमबी क्यापिटलले जनाएको छ ।

तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि समय थप गर्दै जेठ २० गतेसम्म पु¥याएको थियो । अहिले बैङ्किङ प्रणाली मार्फत प्राप्त सेयर आवेदनको कागजात रुजु गर्ने काम भइरहेकाले आगामी असार पहिलो साताभित्रमा बाँडफाँड गरिसक्ने कम्पनीले जनाएको छ । २३.५ मेगावाट क्षमताको उक्त आयोजनाको कुल लागत ५ अर्ब रुपियाँ अनुमान गरिएको छ ।

यस आयोजनामा नेपालकै पहिलो सेडिकन प्रविधिको डिसेन्डर प्रयोग गरिएको छ । नदी प्रवाहीमा आधारित आयोजनाको तल्लो भागमा १७० मिटर लामो टनेल, तीनसय नौ मिटर ‘लो प्रेसर’ र चारसय मिटर ‘हाइ प्रेसर’ पेनस्टक पाइप छ । 

विद्युत् गृहमा ११.७५ मेगावाट विद्युत् उत्पादन गर्ने दुई वटा जेनेरेटर रहेको आयोजनाबाट वार्षिक १३२.५ गिगावाट आवर विद्युत् उत्पादन हुने बताइएको छ । आयोजनामा लक्ष्मी बैङ्कको नेतृत्वमा आठ वटा बैङ्क र एउटा जलविद्युत् लगानी तथा विकास कम्पनी गरी ७५ प्रतिशत लगानी गरेका छन् भने २५ प्रतिशत कम्पनीको रहेको छ । 

आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्ने १३२ केभीको सोलु कोरिडोर अन्तरगत लाम्मानेमा सबस्टेसनमा जडान गरिएको छ ।

https://ujyaalonepalnews.com/archives/21413

Previous articleप्रदेश नं १ प्रदेशसभा बैठक : नीति तथा कार्यक्रम छलफल सुरु
Next articleमर्स्याङ्दी र मध्यमर्स्याङ्दीको बिजुलीको निर्यात सुरु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।