ख्वप कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले व्यवस्थापन मजबुद नहुँदा देशको विकासले गति लिन नसकेको बताउनुभएको छ । 

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज देकोचाको आयोजनामा आजदेखि सुरु भएको आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले देश विकासमा आर्थिक व्यवस्थापन मजबुद हुनुपर्ने बताउनुभयो ।

विजुक्छेंले पञ्चवर्षीय विकास योजना सबैभन्दा पहिला रुसबाट सुरु भएको चर्चा गर्दै नेपालमा आफ्ना देशका विज्ञको बेवास्ता गर्दै विदेशीको सल्लाह लिएर योजना बनाउँदा देश विकासमा अगाडि नबढेको आरोप लगाउनुभयो । 

मोहियानी हक नदिई कमैयामुक्त घोषणा गरेर जमिन्दारलाई मात्रै फाइदा पुगेको भन्दै उहाँले मुक्त भएपछि कमैयाले खानसमेत नपाएकाले उनीहरूलाई मोहियानी हकको व्यवस्था सरकारले गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं कजेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापति, उपप्रमुख एवं कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशी, बागमती प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकमार फुँंयाल, त्रिभुवन विश्वविद्यालय योजना महाशाखाका निर्देशक प्रा डा ध्रुवकुमार गौतम, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठलगायतले व्यवस्थापनको महत्त्वमाथि चर्चा गर्नुभयो । 

कार्यक्रममा आयोजक कलेजका प्राचार्य रूपक जोशीले सम्मेलनको पहिलो दिन दुई प्राविधिक सेसन हुने र दोस्रो दिन चार प्राविधिक सेसन हुने बताउनुभयो । सम्मेलनमा ४० जनाभन्दा बढी सहभागीले कार्यपत्र प्रस्तुत गरी छलफल गरिने बताउनुभयो । रासस

https://ujyaalonepalnews.com/archives/21499

Previous articleलुम्बिनी प्रदेशको आर्थिक बर्ष २०७९/०८० को नीति तथा कार्यक्रम पारित
Next articleसंकट व्यवस्थापन केन्द्रले विद्युत् विल नतिर्दा ठाकुरराम क्याम्पस आर्थिक भारमा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।