संकट व्यवस्थापन केन्द्रले विद्युत् विल नतिर्दा ठाकुरराम क्याम्पस आर्थिक भारमा

बीरगंज । जिल्ला संकट व्यवस्थापन केन्द्र पर्साले कोरोनाको पहिलो लहरमा बीरगंजको ठाकुर राम क्याम्पसलाई क्वारेनटिन बनाउँदा प्रयोग भएको विद्युत्को महसुल भुक्तानी नगर्दा अहिले क्याम्पस मर्कामा परेको छ । 

लामो समयदेखि बिजुलीको महसुल भुक्तानी नहुँदा ब्याज बढ्दै गएकोले क्याम्पसमा आर्थिक भार थपिएको छ । छिमेकी मुलुक भारतसँगको खुल्ला सीमा भएको कारण कोरोनाको पहिलो लहरमा वीरगंज कोरोनाको हटस्पट बनेको थियो । 

कोरोना नियन्त्रणका तथा सङ्क्रमितको कन्टेक्ट टे«सिङमा परेकाहरूलाई राख्नको लागि जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले ठाकुरराम बहुमुखी क्याम्पससहित सिद्धार्थ स्कुल, त्रिजुद्ध स्कुललगायतका सार्वजनिक सस्थानहरुलाई क्वारेनटाइन बनाएको थियो । 

तत्कालीन जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र पर्सा र ठाकुरराम बहुमुखी क्याम्पसका तत्कालीन क्याम्पस प्रमुखबिच कवारेन्टीन सेन्टर बनाउन क्याम्पसको भवन प्रयोग गर्ने र सो अवधिभरमा प्रयोग भएको बिजुलीको रकम भुक्तानी गर्ने मौखिक सम्झौता भएको थियो । 

तर, १४ महिना बितिसक्दा पनि विद्युत् महसुल भुक्तानी नहुँदा ठाकुरराम बहुमुखी क्याम्पसमाथि ब्याजको ठुलो भार थपेको छ । रकम भुक्तानीका लागि तत्कालीन प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ र दोस्रो लहरमा पीताम्बर अधिकारीलाई निवेदन दिएको तर खाली आश्वासन दिने, समस्याको समाधानमा भने आजसम्म कुनै सुनुवाइ नभएको क्याम्पस प्रमुख उमेश चौरसियाले बताउनुभयो । 

क्याम्पसले यति बेला विद्युत् महसुल बापत मात्रै १०–११ लाख रुपैया विद्युत् प्राधिकरणलाई तिर्नु पर्नेछ । 

समयमा भुक्तानी नगरेकै कारण ब्याज माथि ब्याज थपिँदै छ । विद्युत् प्राधिकरणले बाँकी रकम भुक्तानी नगरे विद्युत् काट्ने चेतावनी दिँदै आएको छ । पुरानो रकम बक्यौता रहेकोले अहिले खपत भएको विद्युत्को रकम बुझाउन जाँदा पनि बुझ्न नमान्ने गरेको चौरसियाले गुनासो गर्नुभयो । 

यस सम्बन्धमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले ठाकुराम क्याम्पसले विद्युत् महसुल तिर्न दिएको विवरण बजेटभन्दा बढी रहेकोले त्यो बेला भुक्तानी गर्न नसकिएको बताउनुभयो ।

https://ujyaalonepalnews.com/archives/21500

Previous articleख्वप कलेजको दोस्रो राष्ट्रिय सम्मेलन सुरु
Next articleराज्यले गर्न नसकेको काम सहकारीले गरेको छ  : गृहमन्त्री खाण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।