Home Uncategorized राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ  : गृहमन्त्री खाण

राज्यले गर्न नसकेको काम सहकारीले गरेको छ  : गृहमन्त्री खाण

फाइल तस्बिर

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले राज्यले गर्न नसकेको काम सहकारीले गरेको बताउनुभएको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को आयोजना एवं भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सह आयोजनामा आजदेखि राजधानीमा सुरु चौथो  ‘साकोस शिखर गोष्ठी’ समुद्घाटन समारोहमा गृहमन्त्री खाणले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । 

उहाँले विगतका महिलालाई सशक्त बनाउँदै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले सहकारी अभियानप्रति सरकार सकारात्मक रहेको पनि बताउनुभयो । 

उहाँले नागरिकलाई समूहबद्ध गराउनाका साथै क्षमता विकास, सम्पत्तिको मालिक बनाउने स्रोतसाधनमाथि पहुँच स्थापित गर्नमा सहकारी अभियानले ठूलो सहयोग गरेको बताउनुभयो । 

गृहमन्त्री खाणले सहकारी क्षेत्रको बचतलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी राष्ट्रिय उत्पादन बढाउन सहकारकर्मीसँग आग्रह गर्नुभयो ।

सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले अनुत्पादक क्षेत्रमा लगानी बढेको, बढी ब्याज लिने र सेवा शुल्क बढी लिएको लगायतमा गुनासा बढ्न थालेको भन्दै सचेत हुन आग्रह गर्नुभयो । 

आफूलाई बैङ्क नठान्न र बैङ्कको जस्तो अभ्यासले सहकारीको भलो नहुने पनि उहाँले बताउनुभयो । सहकारी विभागले जारी गरेको ३५ बुँदे एकीकृत निर्देशनलाई कार्यान्वयन गर्न उहाँले सबैमा आग्रह गर्नुभयो । उहाँले सहकारी अभियान र सरकारले समन्वय गरेर अगाडि बढ्नुपर्ने पनि धारणा राख्नुभयो । 

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेलले सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । उहाँले आयकरको दर पुरानै कायम गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । त्यस्तै उहाँले बचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै बचत ऋण ऐनको आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले कोभिड महामारीले सिर्जना गरेका वित्तीय सक्षमता, स्थिरता र स्वस्थताका विषयको यथोचित सम्बोधन गरिने बताउनुभयो । उहाँले छुट्टै साकोस ऐनको आवश्यकता औँल्याउनुभयो ।

दुई दिनसम्म चल्ने गोष्ठीमा देशभरका करिब ७०० बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिको सहभागिता थियो । चौथो शिखर गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ । रासस

https://ujyaalonepalnews.com/archives/21502

Previous articleसंकट व्यवस्थापन केन्द्रले विद्युत् विल नतिर्दा ठाकुरराम क्याम्पस आर्थिक भारमा
Next articleजिसस स्याङ्जामा गोलाप्रथा, प्रमुखमा कांग्रेस
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।