काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले अनौपचारिक क्षेत्र र स्वरोजगारमा रहेका व्यक्तिलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउने गृहकार्य गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत श्रम मन्त्रालयमाथिको छलफलमा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले अनौपचारिक र स्वरोजगार श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक कानुन तर्जुमाको काम भइरहेको बताउनुभयो ।

सामाजिक सुरक्षा कोषको दायरालाई फराकिलो बनाई स्वरोजगार व्यक्ति, वैदेशिक रोजगारीमा गएका श्रमिक, असङ्गठित क्षेत्रका श्रमिकलाई समेत आबद्ध गर्ने गरी तयारी अघि बढाइएको जनाउँदै उहाँले सामाजिक सुरक्षा कोषका शाखा सात वटै प्रदेश स्तरमा लैजाने योजना अघि बढेको बताउनुभयो ।
रासस
https://ujyaalonepalnews.com/archives/21553


