काठमाडौँ । विश्व बैङ्कको उप–क्षेत्रीय कार्यालय मङ्गलवारबाट नेपालमा विधिवत् रुपमा सञ्चालन भएको छ ।
अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैङ्कका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौँको दरबारमार्गमा पुनर्निर्माण पश्चात् तयार भएको विश्व बैङ्कको नयाँ उप–क्षेत्रीय कार्यालयको संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यालयको उद्घाटनसँगै श्रीलङ्कामा अवस्थित विश्व बैङ्कको उप–क्षेत्रीय कार्यालय विधिवत् रुपमा नेपालमा सरेको छ । अब यही कार्यालयबाट विश्व बैङ्कले नेपाल, माल्दिभ्स र श्रीलङ्काको कार्य सञ्चालन गर्नेछ ।
नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रुपमा रहिआएको बताउनुभयो । कार्यालयको विस्तार र स्तरोन्नतिसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।

विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नेपालमा काम शुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्र समेत लाभान्वित हुने विश्वास लिइएको मन्त्री शर्माले बताउनुभयो ।
नयाँ क्षेत्रीय कार्यालय अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैङ्कले जनाएको छ ।
सन् १९६९ मा विश्व बैङ्कबाट पहिलो पटक १७ लाख अमेरिकी डलर बराबरको सहयोग लिएको नेपालमा हाल विश्व बैङ्कको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनामा करिब ३ अर्ब अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता प्राप्त भइसकेको छ ।
https://ujyaalonepalnews.com/archives/21874


