भोजपुर नगरपालिकाको आगामी वर्षको बजेट ६२ करोडभन्दा बढी 

भोजपुर । भोजपुर नगरपालिकाले आर्थिक बर्ष २०७९÷०८० को बजेट सार्वजनिक गरेको छ । 

असार १० मा पालिकाहरूले आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गर्नु पर्ने भएकाले भोजपुर नगरपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ६२ करोडभन्दा बढीको वार्षिक बजेट सार्वजनिक गरेको हो । 

सातौँ नगरसभामा भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले आगामी आर्थिक वर्षको लागि ६२ करोड १३ लाख १३ हजार बरावरको वार्षिक बजेट प्रस्तुत गर्नुभयो । उहाँले नीति तथा कार्यक्रम सहितको बजेट सार्वजनिक गर्नुभएको छ  । 

नगरपालिकाको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, पूर्वाधार विकास, खानेपानी लगायतका विषयहरू समेटिएका छन् । 

नगर प्रमुख आलेले आगामी आर्थिक वर्षका लागि आयतर्फ वित्तीय समानीकरण अनुदान सङ्घ ११ करोड ९९ लाख, राजस्व बाँडफाँडमा ९ करोड ७६ लाख १० हजार, सशर्त अनुदान सङ्घबाट ३३ करोड, विशेष अनुदान १ करोड ५० लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान  ६४ लाख १५ हजार, सवारी साधन करको राजस्व बाडँफाडँबाट १ करोड १५ लाख ६३ हजार २ सय ५०, प्रदेश सशर्त अनुदान ७९ लाख ६२ हजार, प्रदेश समपूरक अनुदानको १ करोड, आन्तरिक राजस्वतर्फ २ करोड २८ लाख ६२ हजार ७ सय ५० गरी जम्मा ६२ करोड १३ लाख १३ हजार बरावरको आय प्रस्ताव नगर सभामा पेश गर्नुभएको छ ।

नगरप्रमुखले सार्वजनिक गरेको नीति तथा कार्यक्रमहरू नगरसभामा सहभागी सदस्यहरूबाट बहुमतका साथ पास भएको थियो । सो क्रममा बोल्दै नगर प्रमुख आलेले नगरसभामा प्रस्तुत भएको नीति तथा कार्यक्रमको लक्ष तथा उद्देश्य प्राप्तिका लागि जनप्रतिनिधीहरूले मात्र सम्भव नहुने भएकाले प्रभावकारी कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग हुनु पर्ने बताउनुभयो । 

नगरसभामा उपप्रमुख निर्मला शेर्पा, प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र राईसहित १२ वटै वडाका वडाध्यक्ष, सदस्य, नगर कार्य पालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो । 

जिल्लाको पौवादुङमा गाउँपालिका, रामप्रसाद राई गाउँपालिका, हतुवागढी गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाले पनि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

भोजपुरमा २ नगरपालिका र ७ वटा गाउँपालिका गरी ९ वटा स्थानीय तह छन् । 

https://ujyaalonepalnews.com/archives/21999

Previous articleहेटौँडाको नगर सभा आइतबार सम्मको लाग स्थगित
Next articleबीरगंज महानगरपालिकाको बजेट ३ अर्ब ३३ करोड ६३ लाख २६ हजार 
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।